२०८१ चैत १४, बिहिवार , ०७:४६:०८ बजे

Sajhamanch
'

नयाँ मिलन साकोसले दुर्घटना मृत्यु बीमावापत सदस्य परिवारलाई दियो पाँच लाख रुपैयाँ

शुक्रवार, चैत ८, २०८१

बिर्तामोड । बिर्तामोड ४ मा रहेको नयाँ मिलन बचत तथा ऋण सहकारी संस्थाले दुर्घटना मृत्यु बीमा वापत एक सदस्यको परिवारलाई पाँच लाख रुपैयाँ प्रदान गरेको छ ।

गत भदौ १५ गते बिर्तामोडको हिकोला होटल अगाडि बसको ठक्करबाट ज्यान गुमाएकी इलाम माई नगरपालिका ४ की ३० वर्षीया तुलसादेवी पाँचकोटीको परिवारलाई पाँच लाख रुपैयाँ प्रदान गरिएको हो ।

मृतकका नाबालक छोरा १४ वर्षीय दिवस महरालाई सो रकम बराबरको चेक हस्तान्तरण गरिएको छ ।

त्यस्तै गत जेठ २६ गते बिर्तामोडबाट भारतको सिलिगुडी जाँदै गर्दा मेचीनगरको इँटाभट्टामा दुर्घटनामा परेकी बिर्तामोड ५ की मन्जु बर्मनलाई उपचार खर्च वापत ५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

यसैगरी, बिर्तामोड ४ की नैनकला भण्डारीलाई आफ्ना स्वर्गीय पिता डिकबहादुर भण्डारीको काजकिरियाका लागि ५ हजार रुपैयाँ राहत प्रदान गरिएको छ ।

संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष पशुपति बराल, व्यवस्थापक सुमित्रा रेग्मी लगायतले लाभग्राहीहरुलाई रकम वा सो बराबरको चेक प्रदान गरेका थिए ।

नयाँ मिलन साकोसले नियमित बचत गर्ने शेयर सदस्यका लागि विभिन्न आकर्षक सेवा सुविधाहरु प्रदान गर्दै आएको जनाइएको छ । महिला सदस्यलाई सुत्केरी पोषण खर्चवापत ३ हजार रुपैयाँ, सदस्यको मृत्यु भएको अवस्थामा मृत्यु राहत सुविधा वापत १५ हजार रुपैयाँ र सदस्यको बुबाआमाको मृत्यु भएको अवस्थामा काजकिरिया खर्च वापत ५ हजार रुपैयाँ प्रदान गर्ने नीति रहेको व्यवस्थापक सुमित्रा रेग्मीले जानकारी दिएकी छन् ।

सवारी साधनद्वारा सदस्यको दुर्घटना भएमा उपचार खर्च अवस्था हेरी २ हजारदेखि ५ हजार रुपैयाँसम्म, सदस्यलाई कर्जा आवश्यक परेको अवस्थामा कूल बचतको ३ गुना ऋण प्रवाह गरिने, सदस्यका छोराछोरीले एसईईमा स्कूल टप गरेमा पुरस्कार स्वरुप १० हजार रुपैयाँ प्रदान गरिने, सदस्यको व्यापार व्यवसायमा कुनै कारणवस आगलागी भएर पूर्णरुपमा क्षति भएमा १० हजार रुपैयाँ राहतस्वरुप प्रदान गरिने व्यवस्था छ ।

संस्थाले नियमित बचत कारोबार गर्ने शेयर सदस्यहरुलाई ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा र नियमित बचत कारोबार गर्ने शेयर सदस्यहरुलाई १ लाख बराबरको दुर्घटना उपबीमाको व्यवस्था गर्दै आएको व्यवस्थापक रेग्मीले जानकारी दिएकी छन् ।

सम्बन्धित खबर