
काठमाडौं । गायक दुर्गेश थापाले विद्यालय शिक्षा परीक्षा(एसईई) अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा गरेका छन् । सामाजिक संजालबाट बुधबार विज्ञप्ति जारी गर्दै उनले परीक्षा अवधिभर आफूलाई सम्पर्क नगर्न समेत भनेका छन् ।
उनले भनेका छन्, ‘मलाई धेरै महोत्सव तथा इभेन्टबाट कार्यक्रमको लागि कल आइरहेको छ । यदि मैले कार्यक्रम गर्दै हिँडे भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ । ध्यान भंग गर्छ अनि भविष्यमा असर पर्न सक्छ । यी कुरालाई मध्यनजर गर्दै एसईई परीक्षा अवधिभर मैले कुनै कार्यक्रम नगर्ने घोषणा गर्दछु ।’उनले परिक्षा र मिहेनतमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘मलाई फेरि कमब्याक गराउने, माया गर्ने, मसँगै हिँड्ने मेरा भगवानरुपी फ्यानहरू हुनुहुन्छ र हजुरहरुको हौसला, ऊर्जा अनि साथले नै मलाई यो उचाइमा पुर्याएको हो । त्यसैले, जब हजुरहरुको लागि महत्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ ।’
यसवर्षको एसईई विहिबारदेखि सुरु हुँदैछ । यसवर्ष ५ लाख १४ हजारभन्दा धेरै विद्यार्थीले परीक्षा दिँदैछन् ।यसअघि प्रायः विवादमा आइरहने गायक थापा पछिल्लो समयमा भने प्रशंसकको मन जित्ने प्रयासमा छन् । यतिबेला उनको सांगीतिक करिअरले पनि साथ दिइरहेको छ । उनको पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्यै’ युट्बयुको ग्लोबल ट्रेन्डिङमा छ । यतिबेला मेला महोत्सवमा उनको निकै माग भैरहेको छ ।