२०८१ चैत ६, बुधवार , ११:५३:४२ बजे

Sajhamanch
'

निकिता चाण्डकले संजयलीला भन्सालीको फिल्म खेल्ने

बुधवार, चैत ६, २०८१

काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकले प्रसिद्ध भारतीय फिल्म निर्देशक संजयलीला भन्सालीको आगामी फिल्ममा काम गर्ने भएकी छन् ।

इन्स्टाग्राममा भन्सालीसँगको तस्वीर सेयर गर्दै चाण्डकले भन्सालीको सिनेम्याटिक विश्वको सानो हिस्सा बन्न पाउँदा गर्व महसुस भएको उल्लेख गरेकी छन् ।उनी लेख्छिन्, ‘संजयलीला भन्साली सरको सिनेम्याटिक दुनियाँको सानो हिस्सा हुन पाउँदा अत्यन्तै आभारी र उत्साहित छु । भारतमा मेरो पहिलो परियोजना यो भन्दा राम्रो अरू हुन सक्दैनथ्यो ।’

भन्सालीको कुन फिल्ममा अभिनय गर्न लागेको हो भन्ने बारे निकिताले विस्तृत खुलाएकी छैनन् । यो खुसीका लागि निकितालाई उनका ‘राजागंज’ को-एक्टर दयाहाङ राई, कलाकार आना शर्मा, उषा रजक लगायतले बधाइ दिएका छन् ।‘साङ्लो’बाट फिचर फिल्ममा डेब्यु गरेकी निकिताको तेस्रो कथानक फिल्म ‘राजागंज’ अहिले प्रदर्शन भैरहेको छ । दीपक रौनियार निर्देशित यो फिल्ममा उनले इन्सपेक्टर ममता गुप्ताको भूमिका निर्वाह गरेकी छन् ।

उनको दोस्रो फिल्म ‘द सेमलेस’लाई भारतीय र फ्रान्सेली निर्माताको सहलगानीमा निर्माण गरिएको थियो जसलाई बुल्गेरियाली निर्देशक कोन्सटान्टिन बोन्जोभले निर्देशन गरेका थिए । यो फिल्मको छायांकन काठमाडौंमा भएको थियो ।

भन्सालीको आगामी फिल्म ‘लभ एण्ड वार’ हो जुन रोमान्टिक ड्रामामा रणवीर कपूर, आलिया भट्ट र विक्की कौशल लगायतका स्टार कलाकार देखिनेछन् । यो फिल्म २० मार्च २०२६ मा रिलिज हुने तयारीमा छ ।

सम्बन्धित खबर