
मेचीनगर । मेची उद्योग वणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार यो पटक सुष्मा राजवंशीलाई दिइने भएको छ ।
संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा आज बसेको बैठकले पत्रकार राजवंशीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।
यही चैत ७ गते धुलाबारीमा हुने संघको २०औँ वार्षिक साधारण सभामा उक्त पुरस्कार हस्तान्तरण गरिने संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले जानकारी दिए । पुरस्कारको राशि २१ हजार रुपैयाँ रहेको छ ।
रेडियो साथीमा आवद्ध पत्रकार राजवंशी विगत १४ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् ।
संघले यसअघि उक्त पुरस्कार गोविन्द चन्द क्षेत्री, राजु अधिकारी, पर्वत पोर्तेल, मनिषा चम्लागाई, रोहित काफ्ले, मुक्ति पौडेल र अम्बिका भण्डारीलाई प्रदान गरिसकेको छ ।
संघले यो वर्ष उत्कृष्ट कर्मचारीका रुपमा वरिष्ठ सहायक गंगा विकलाई १५ हजार रुपैयाँसहित सम्मान गर्ने भएको कार्यकारी निर्देशक बस्नेतले जनाए ।
साधारण सभाको उद्घाटन र पुरस्कारहरुको हस्तान्तरण कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले गर्ने कार्यक्रम तय भएको छ ।