
झापा । लोकतन्त्र पोस्टका प्रधान सम्पादक मोहन काजीलाई ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ प्रदान गरिने भएको छ ।
उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील कृष्णप्रसाद भण्डारी मार्सेलीले विराटनगरस्थित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थामा अक्षयकोषसहित उक्त पुरस्कारको स्थापना गरेका छन् ।
सहकारी संस्थाले विराटनगरमा एक कार्यक्रम गरी आइतबार उक्त पुरस्कार बारे जानकारी गराएको हो । उपभोक्ताको हक, हित र अधिकारका पक्षमा योगदान पुर्याएको निश्कर्ष निकाल्दै पहिलोपल्ट यो पुरस्कार पत्रकार काजीलाई दिने निर्णय भएको पुरस्कारका संस्थापक मार्सेलीले बताए ।
झापाको मेचीनगर १० निवासी पत्रकार काजी उपभोक्ता जागरण अभियान नेपालका अभियन्ता हुन् ।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवन काफ्लेले विश्व उपभोक्ता अधिकार दिवसका दिन आगामी साउन ४ गते उक्त पुरस्कार हस्तान्तरण गरिने पत्रकार सम्मेलनमा बताए ।
उपभोक्ता हितका क्षेत्रमा नेपालमा स्थापना भएको यो पहिलो पुरस्कार भएको दावी पनि गरिएको छ ।