
काठमाडौं । संगीतकार वसन्त सापकोटाले ‘१२ महिनामा १२ कलाकार’लाई संगीतमा डेब्यु गराउने भएका छन् । केही दिनअघि सामाजिक संजालमार्फत उनले यो अभियानको घोषणा गरेका थिए ।
प्रत्येक महिना १र१ गायक र गायिकालाई संगीतमा डेब्यु गराउने योजना रहेको सापकोटाले उल्लेख गरेका छन् ।
उनी फेसबुकमा लेख्छन्, ‘प्रत्येक महिना एकरएक गायक र गायिकालाई अलि ब्यवस्थित तवरबाट सांगीतक क्षेत्रमा ल्याउने जमर्को गर्दैछु । त्यसको लागि मेरो ह्वाट्स एप नम्बरमा गीत गाएर पठाउनुहोला । संगीत प्रशिक्षण केन्द्रबाट संगीत सिकेको लाई बढी प्राथमिकतामा राख्ने कुरा जानकारी गराउन चाहन्छु ।’
आफूले सामाजिक संजालमा स्टाटस लेखेपछि अहिले ७० जनाले गीत पठाएको उनले बताए । चैतबाट कलाकार घोषणाको तयारी सुरु गर्ने उनको तयारी छ । एकजना पुरुष र एक महिला गायिका छनोट गर्ने, उनीहरूसँग कागजी सम्झौता गर्ने उनको योजना छ । त्यसपछि गीत रेकर्ड गर्ने र सातै प्रदेशमा आयोजना हुने कार्यक्रममा प्रस्तुतिको मौका दिने सापकोटाको तयारी छ ।‘यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर इभेन्टकै रुपमा अघि बढ्नेछौं’ सापकोटाले अनलाइनखबरसँग भने । यसबाट सर्जक र लगानीकर्ता दुबैलाई आर्थिक र रचनात्मक लाभ मिलोस् भन्ने आफ्नो चाहना रहेको उनले बताए ।
‘संगीतमै गम्भिरतासँग करिअर बनाउन खोज्नेको लागि मैले यस्तो पहल लिएको हुँ’ उनले भने, ‘भाइरल हुन खोज्ने प्रवृत्तिले यतिबेला संगीत क्षेत्र बिग्रिएको छ र यसलाई जोगाउन जरुरी छ ।’
सापकोटाले अहिलेसम्म प्रेम परियार, मिलन नेवार, प्रताप दास, प्रविशा अधिकारी, मेलिना राई, प्रल्हाद तिमिल्सना, रचना रिमाल, समीक्षा अधिकारी, जोनिशा पौडेल, किरण गजमेरलाई डेब्यु गराइसकेका छन् ।