
झापा । फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनमा आज प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषमा रकम हस्तान्तरण गरेका छन् ।
पर्पल किचन एण्ड इन्टेरियरका सञ्चालक चौधरीले प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।
आज बिर्तामोडस्थित प्रेस चौतारी झापाको कार्यालयमा रकम हस्तान्तरण गर्दै उनले उपचार सहयोग कोषको महत्व बुझेर सहयोग रकम हस्तान्तरण गरेको बताए ।
पत्रकार उपचार सहयोग कोषका संयोजक भिमा शिवाकोटीले एउटा माथि अर्को ईंटा थपेर मानवीय सेवाका लागि सहयोग गरेकोमा युवा व्यवसायी चौधरीलाई धन्यवाद दिइन् ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य गोपाल काफ्ले, जिल्ला अध्यक्ष प्रदिप परियार, उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार महासंघ झापाका सहसचिव रमेश तिवारी, सदस्यहरु प्रकाश बाँनिया, अस्मिता साँखी, तीर्थ तिम्सिना, कबिचन्द्र गुरागाई, गणेश कोइराला, पत्रकार टिकाराम बाँस्तोला लगायतको उपस्थिति थियो ।
नयाँ कार्यसमिति निर्वाचित भएपछि उपचार कोषमा सहयोग गर्नेहरुको संख्या बढ्दै गएको छ । कोषका संयोजक शिवाकोटीले यो कार्यकाल भित्र कम्तिमा १५ लाख रुपैयाँ कोषवृद्धि गर्ने घोषणा गरिसकेकी छन् ।