
सरोज भट्टराई
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका विभिन्न स्थानमा निर्माणको चरणमा रहेका ४ वटा बाटोहरुमा कालोपत्रे गर्ने तयारी भएको छ । नगरपालिकाको विनियोजित बजेटबाट निर्माण थालिएको चारवटा बाटो ४ दशमलव ५४ किमी दूरी कालोपत्रे गर्ने तयारी गरिएको हो ।
शिवसताक्षीको दूधे–शिवगञ्ज खण्डको ७५० मिटर सडक कालोपत्रे गर्ने तयारी छ । सडकको सवबेस र बेसको काम सम्पन्न भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जुन सडक १० मिटर चौडा रहेको छ । शिवसताक्षी नगरपालिकाबाट भ्याटसहित १ करोड १३ लाख ७१ हजार २५२ रुपैयाँ विनियोजित बजेटबाट सो सडक निर्माणको काम अघि बढाइएको हो ।
शिवसताक्षी नगरको दूधे शिवगञ्ज सडकलाई चौडा गर्ने काम गएको वर्षदेखि थालिएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । सो सडक नगरको मुल सडकको रुपमा रहेको छ ।
पूर्वपश्चिम लोकर्माबाट शिवसताक्षी नगरपापिलका कार्यालय, पुरानो शिवगञ्ज बजार हुँदै भारतको सिमाना कुञ्जिबारीसम्म जाने सडकको रुपमा रहेको नगरप्रमुख थोप्राले जानकारी दिए ।
साना र छोटा सडकहरुमा पनि काम धमाधाम भइरहेको नगरप्रमुखको भनाई छ । नगर प्रमुखले सडक तोकिएको मापदण्ड अनुसार नै बन्ने र सडक निर्माणको क्रममा प्राविधिक र नगरको अनुगमन टोलीले निरन्तर निगरानी गरिरहेको बताए ।
सडक निर्माणका क्रममा बाटो अत्यधिक धुलो उडेर बाटो वरपरका बासिन्दालाई सास्ती भएको गुनासो आएको थियो । आम नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै कामलाई तिब्रता दिएको सडक निर्माण ठेकेदार प्रकाश साँवाले जानकारी दिए ।
उनले भने ‘काम ढिला गर्ने हाम्रो नियत होइन, आगामी आषाढ २ गते निर्माण कार्य पूरा गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भए पनि समय अनुकल रह्यो भने अबको २० दिनसम्ममा कालोपत्रेको काम सम्पन्न गर्ने योजना रहेको छ ।’
त्यस्तै शिवसताक्षी नगरपालिकाले रिङ्गरोड सडक अन्तर्गत दुई स्थानमा सडक निर्माणको काम भइरहेको छ । जस अन्तर्गत शिवसताक्षी ९ चन्द्रडाँगी–माइधार सडकको कामलाई पनि तिब्रता दिइएको हो ।
उक्त सडक १ हजार ५०० मिटर लम्बाई र ५ दशमलव ५ मिटर चौडा रहेको शिवसताक्षी नगरपालिकाका इन्जिनियर कृष्ण राईले जानकरी दिए । जसको भ्याटसहित १ करोड २२ लाख ३ हजार १७७ रुपैयाँ लागतमा निर्माण कार्य सुरु गरिएको नगरपालिकाको योजना शाखाले जनाएको छ ।
शिवसताक्षीको गौरवको सडक रिङ्गरोड अन्तर्गत कै वडा नं. ३ र ४ जोड्ने १ हजार ४७० मिटर सडक पनि निर्माणको चरणमा छ । जसको चौडाई पनि ५ दशमलव ५ मिटर नै रहेको योजना शाखाले जनाएको छ ।
त्यस्तै गरी शिवसताक्षीको वडा नं. २ स्थित कमल खोला पूर्व मोती माध्यमिक विद्यालयसम्मको सडकको पनि स्तरोन्नतिको काम भइरहेको छ । ५५० मिटर लाम्बाई र ५ दशमलव ५ मिटर चौडाईको उक्त सडक ४४ लाख २१ हजार ९८५ रुपैयाँ विनियोजित बजेटबाट निर्माण भइरहेको हो ।
सडक कालोपत्रेका लागि बेसको काम सकिएको नगरपालिकाले जनाएको छ । नगरका निर्माणाधिन सडकको नगर उपप्रमुख नरमाया कार्कीसहित प्राविधिक टोलीले निरन्तर अनुगमन गरिरहेको जनाइएको छ । त्यस्तै वडा नं. ६ शिवगञ्ज हवल्दार चौक सडक पनि निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ ।
चालू वर्षको भौतिक पूर्वाधारको काम बैशाखसम्ममा सम्पन्न गरिने : प्रमुख प्रशासकीय अधिकृत तुम्बाहाङ्फे
शिवसताक्षी नगरपालिकाको चालू आर्थिक वर्षमा सडक लगायत भौतिक पूर्वाधारको कामहरु आगामी बैशाख महिनासम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाङ्फेले जानकारी दिएकी छन् ।
हाल चालु अवस्थामा रहेका कामहरुको ७५ प्रतिशत प्रगति भएको जानकरी दिँदै उनले बर्खा लागेपछि पूर्वाधारको काम थाल्ने र बर्खामा काम गर्ने परम्परा यस वर्ष नदोहोरिने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘बैशाख महिनामा मै सबै काम सक्ने गरी काम गर्दैछौं । बैशाख लागेपछि कुनै पनि ठेक्का खुलाउने योजना रहेको छैन ।’
हाल चालू अवस्थामा रहेका सडकहरु संघीय सरकार र नगरपालिकाको साझेदारीका योजनाहरु हुन् । नगरपालिकाले निर्माणको चरणमा रहेको सबै सडकको थिक्नेस तथा फिल्ड डेन्सीटी परीक्षण गरेको जनाएको छ । ल्यावबाट परीक्षण गरिएको रिपोर्ट राम्रो आएपछि मात्र काम अघि बढाउने गरेको नगरपालिका कार्यालयको दावी छ ।