
काठमाडौं । टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करणको एक सत्रमा वक्ता थिए सुनील पोखरेल र दीया मास्के । रंगमञ्चका दुई फरक पुस्ताका यी दुई प्रखर कलाकारले व्यवसायिक आर्थिक निर्भरताको सेरोफेरोमा बसेर नेपाली रंगमञ्चको विगत र वर्तमानका विविध सन्दर्भबारे चर्चा गरे ।
कला पत्रकार शुशीला तामाङले सहजीकरण गरेको कार्यक्रममा बोल्दै सुनिलले भने, ‘हाम्रो रंगमञ्चले गोरेटो बनाएको छ । राजमार्ग बन्न बाँकी छ । उनले रंगमञ्चलाई कसरी व्यावसायिक बनाउने भन्नेबारे आफूलाई थाहा नभएको बताए । हामी व्यावसायिकताबारे कुरा गर्छौं । रंगमन्चलाई कति व्यावसायिक बनाउने थाहा छैन ।’दीयाले व्यावसायिक भनेको पैसा कमाउनु मात्र नभएको बताइन् । थिएटर पैसा कमाउने माध्यम नभएको उनको धारणा छ । व्यावसायिकता भनेको हामीले कति गुणस्तरका काम गर्छौं, त्यो होला’ उनले भनिन्, ‘भलै लोकप्रिय नहोला । तर समाजलाई रुपान्तरण गर्न सक्ने शक्ति नाटकमा हुन्छ ।’
सुनिलले आफूले रंगमन्च रोज्नुको कारणबारे पनि सुनाए । उनले भने, ‘नेपाली रंगमन्चमा यात्रा गर्नुको कारण अरु केही नजानेर हो । सम्भवतः यो मेरो प्यासन हो । मलाई नाटक गर्दा आनन्द आउँछ ।’
सुनिलले अहिले सहरमा थुप्रै नाटघरहरू भएको भन्दै खुसी मनाए । ‘अहिले जति नाटकघरहरू छन् । त्यसको सुरुवात गुरुकुलबाटै थियो,’ उनले भने । उनले नाटकले मानिसहरूलाई बाँच्न सिकाउने पनि बताए । ‘नाटकले हामीलाई फराकिलो बनाउँछ । सहिष्णु बनाउँछ । असहमतिलाई झेल्ने शक्ति दिन्छ,’ उनले भने ।
‘अहिले युवापुस्तामा नाटकको लगाव बढेको बताइन्छ । सिनेमामा धेरै कलाकारले ख्याती पाए। त्यसकारण ८० प्रतिशत विद्यार्थी यही सोचेर नाटकमा आएका छन्’, दीयाले भनिन् । उनले नाटकबाट फिल्ममा गएका कलाकारलाई फर्किन आग्रह पनि गरिन् । ‘फिल्मबाट जानुभएकाहरू नाटकमा फर्किनुस् । तपाईंको जग यही हो । नाटक गर्नुस्’, उनले भनिन्, ’तपाईंको पपुलारिटीले नाटकलाई पनि फाइदा होस् ।’