२०८१ फागुन २५, आइतवार , ०९:००:३१ बजे

Sajhamanch
'

अन्तराष्ट्रिय श्रमिक महिला दिवसः शिवसताक्षीका तीन महिला प्रधानाध्यापक र दुई रक्तदाता सम्मानित

आइतवार, फागुन २५, २०८१

शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर ३ जना शिक्षक महिलालाई सम्मान गरिएको छ ।

शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा शिवसताक्षी १० स्थित दोमुखामा भएको कार्यक्रममा शिवसताक्षीका कार्यरत तीनवटा विद्यालयका महिला प्रधानाध्यापकहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा अरुणोदय आधारभूत विद्यालयकी प्रधानाध्यापक तारा लावती, श्रीजंग आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जुकुमारी गौली र जनता आधारभूत विद्यालयकी प्रधानाध्यापक गीता भट्टराई रहेका छन् ।

उनीहरुलाई शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्हाङफे लगायतले सम्मान पत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा म्युजिकल चियर, हण्डीफोर, महिला अधिकार सम्बन्धी कविता वाचन प्रतियोगिता भएको थियो ।

प्रतियोगितात्मक कार्यक्रमका विजेताहरुलाई शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले पुरस्कार प्रदान गरे ।

कार्यक्रममा नगर प्रमुख थोप्राले महिलाहरुको हक र अधिकारको विषयमा चर्चा गर्दै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिएका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाङ्फे, वडाध्यक्ष विष्णु प्रसाई, सतासी महिला मौरीपालन सहकारी संस्थाका व्यवस्थापक देवी दाहाल लगायतले मन्तव्य राखेका थिए ।

नारी दिवसको अवसरमा आयोजित अन्तरक्रियात्मक कार्यक्रमको सहजीकरण सञ्चारकर्मी तथा महिला नेतृ भिमा शिवाकोटीले गरेकी थिइन् ।

यसैबीच नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाले पनि सोही कार्यक्रममा २ जनालाई सम्मान गरेको छ । रक्तदाता खनीमाया श्रेष्ठ र अम्बिका भट्टराईलाई सम्मान गरेको नेपाल रेडक्रस सोसाइटीले उपशाखा शिवसताक्षीले जनाएको छ ।

कार्यपालिका सदस्य यसोदा बिमलीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत महिला तथा बालबालिका शाखाका प्रमुख देविना पराजुलीले गरेकी थ्यिन् । कार्यक्रमको सञ्चालन नगरस्तरीय महिला समितिका उपाध्यक्ष कोपिला चम्लागाईले गरेकी थिइन् ।

सम्बन्धित खबर