
कमल । झापाको कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजना कमल गाउँपालिका अन्तर वडास्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ सञ्चालन हुने भएको छ ।
“हाम्रो कमल, हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नाराका साथ २०८१ साल चैत्र २ गतेदेखि ८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको पत्रकार सम्मेलन गरी आयोजकले जनाएको हो ।
कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा हुने प्रतियोगितामा गाउँपालिकाका ७ वटा वडाका टिम सहभागी हुने प्रतियोगिताका संयोजक रुस्तम राईले जानकारी दिए ।
गाउँपालिकाले जारी गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तरगत तेस्रो अध्यक्ष कप अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो । प्रतियोगितामा च्याम्पियन टिमले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजयी टिमले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद तथा ट्रफी प्रदान गरिने पालिका खेलकुद विकास समितिका संयोजक सन्तकुमार मगरले जानकारी दिए । त्यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ र ट्रफी, सर्वोत्कृष्ट गोलकर्ताले २ हजार रुपैयाँ र ट्रफी पाउने छन् ।
यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मीड फिल्डर र सर्वोत्कृष्ट फर्वार्डले जनही २ हजार रुपैयाँ पुरस्कार र ट्रफी प्राप्त गर्ने गाउँपालिका खेलकुद विकास समितिका सह संयोजक तेजकुमार राईले बताए ।