
झापा । झापाको कनकाई नगरपालिका–५, टेक्राबाट एकजना बालक सम्पर्कविहीन भएका छन् ।
झापा मेरी गोल्ड स्कुलमा कक्षा १० मा पढ्दै आएका अभिषेक पाठक सम्पर्कविहीन भएको उनका साथीहरुले बताएका छन् ।
पारिवारिक स्रोतका अनुसार, उनी स्कुलमा कोचिङ पढ्न जान्छु भनेर बिहान ५ बजे घरबाट निस्किएका थिए । तर, घर नफर्किएपछि परिवारले खोजतलास थालेको थियो । परिवारले उनी हराएको भन्दै खोजतलासका लागि प्रहरीसमक्ष पनि निवेदन दिएको छ ।
जिल्ला प्रहरी कार्यालय, झापाका एसपी मिलन केसीका अनुसार, पाठक हराएको सूचना आएलगत्तै विभिन्न पक्षको विश्लेषण गरेर उनको खोजी कार्य थालिएको छ ।
‘बच्चा भएकाले मोबाइल फोन नबोक्ने भएकाले केही कठिनाइ भएको छ’, उनले भने, ‘तर, प्रहरीले अन्य पक्षको विश्लेषण गरेर खोजी गरिरहेको छ ।’
प्रहरी स्रोतका अनुसार, घरमा उनले लेखेको एउटा नोट समेत फेला परेको छ । त्यसमा उनले ‘आफूलाई नखोज्नु’ भन्दै आफ्नो लक्ष्यका लागि जे पनि गर्नसक्ने उल्लेख गरेका छन् ।
पाठकको पारिवारिक सदस्यहरुले उनलाई कतै देखे नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन भनेका छन् ।