
मेचीनगर । मेचीनगर नगरपालिकामा सामाजिक संघ–संस्थाका रुपमा काम गरिरहेका प्रतिष्ठानहरुले नगरस्तरीय प्रतिष्ठानको माग गरेका छन् । आज ती संस्थाहरुले नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेरै नगरस्तरीय प्रतिष्ठानको माग गरेका हुन् ।
लाल भागीरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अगुवाईमा मेचीनगरका सामाजिक संघ-संस्थाहरुले नगरप्रमुख बुढाथोकीलाई ध्यानाकर्षण सहितको मागपत्र बुझाएका छन् ।
संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले साहित्य, कला, संंस्कृति, संगीत लगायतको विकास र जगेर्नाका लागि मेचीनगरमा नगरस्तरीय स्वायत्त प्रतिष्ठान स्थापना हुनुपर्ने माग गरेका हुन् ।
अध्यक्ष बानियाँको टोलीमा शहीद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष राम कट्टेल, साहित्यकार तेराख प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौड्याल, पवित्रा भेषराज खतिवडा स्मृति प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडा, शहीद वीरेन स्मृति प्रतिष्ठानका अध्यक्ष पदम गौतम, सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेल, पुण्यप्रसाद न्यौपाने स्मृति प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद न्यौपाने, रण-खड्ग खवास फाउन्डेसनका अध्यक्ष भीम खवास, गोवा हरिनारायण भाग्य रुपा सिग्देल स्मृति प्रतिष्ठानका अध्यक्ष लक्ष्मीप्रसाद सिग्देल लगायत थिए ।
मागपत्र बुझ्दै नगरप्रमुख बुढाथोकीले नगरस्तरीय प्रतिष्ठान आवश्यक रहेको बताए । उनले नगरमा भएका प्रतिष्ठानहरुलाई सूचीकृत गरेर आगामी कार्यपालिकाको बैठकबाट निर्णय गरिने पनि आश्वासन दिएका छन् ।