
बिर्तामोड । बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका सागर मिश्रले आज सोमबारदेखि कार्यभार सम्हालेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत मिश्र कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंदेखि सरुवा भएर बिर्तामोड आएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई नगरपालिकाका कार्यबाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य जगतबन्धु राजवंशी, निर्मला ल्वागुन लगायत जनप्रतिनिधि र कर्मचारीहरुले खादा र टिका लगाएर स्वागत गरेका छन् ।
स्वागत कार्यक्रममा बोल्दै कार्यबाहक नगरप्रमुख संग्रौलाले कर्मचारीलाई राजनीति नगर्न र कामसँगै अनुशासनमा ध्यान पुर्याउन निर्देशन दिए । सबैले तहगत जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिँदै उनले प्रक्रियागत ढंगले आएका कामहरु कुनै पनि बहानामा नरोक्न सुझाब दिएका छन् ।
स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मिश्रले विकासको काममा पर्खेर नबस्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।
जनप्रतिनिधि र प्रशासनबीच नङ र मासुको सम्बन्ध हुनुपर्नेमा जोड दिँदै उनले कर्मचारीलाई कुनै समस्या भए आफूसंग आएर कुरा गर्न सुझाव दिए ।
दैनिक सेवा प्रवाहमा कुनै पनि समस्या हुन नहुने भन्दै उनले यहाँका समस्यासंग आफू परिचित रहेको पनि बताए ।
यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले जनप्रतिनिधि र कर्मचारी समन्वय गरेर बिर्तामोडमा उदाहरणीय ढंगले काम गर्नुपर्ने बताए । उनले कर्मचारीहरुमा कुनै समस्या भए कार्यपालिकामा राखेर छलफल गर्नेसमेत सुझाव दिए ।
यस्तै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बिर्तामोडको समृद्धिको लागि प्रमुख प्रशासकीय अधिकृतलाई पूर्णरुपमा सहयोग गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।
प्रमुख प्रशासकीय अधिकृत मिश्रसँग यसअघि जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, अख्तियार अनुसन्धान आयोग, वाणिज्य विभाग, वीर अस्पताल लगायतका कार्यालयमा काम गरेको लामो अनुभव छ ।