२०८१ फागुन १२, सोमवार , ०८:५४:०६ बजे

Sajhamanch
'

मेचीनगरमा ढल तथा फोहोर पानी व्यवस्थापन गर्न डिपिआर बनाइँदै

सोमवार, फागुन १२, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाको ढल तथा फोहोर पानी व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बन्ने भएको छ ।

संघीय खानेपानी मन्त्रालयले मेचीनगरको मुख्य बजारहरुमा ढल तथा फोहोर पानी व्यवस्थापनका लागि डिपिआर बनाउन प्रक्रिया सुरु गरेको हो ।

मन्त्रालयल अन्तरगतको खानेपानी तथा ढल व्यवस्थापन विभागले आज गोरखापत्रमा सूचना प्रकाशन गरेर डिपिआरका लागि आव्हान गरेको हो । मेचीनगरको मुख्य बजारहरुमा ढल व्यवस्थापन र फोहोर पानी प्रशोधन गर्ने गरी प्रक्रिया अघि बढाइएको सूचनामा उल्लेख छ ।

डिपिआरका लागि मेचीनगर फोहोर पानी व्यवस्थापन आयोजना तयार गरिएको छ । डिपिआर बनेपछि ढल र फोहर पानी व्यवस्थापन सहितको प्रशोधनको काम अघि बढ्ने नगरपालिका कार्यालयले जनाएको छ ।

उक्त डिपिआरका लागि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले २०७९ मंसिर १४ गते खानेपानी तथा ढल व्यवस्थापन विभागलाई पत्र पठाएका थिए ।

पत्रमा एकीकृत खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन गरिदिन भनी अनुरोध गरिएको थियो ।

नगरप्रमुख बुढाथोकीले मेचीनगरको मुख्य बजारहरुको ढल तथा फोहोर पानी व्यवस्थापनमा समस्या रहेको बताए ।

थोरै जमिनमा बनेका घरबाट निक्लने र अन्य पानीको समुचित व्यवस्थापन नहुँदा फोहोर पानी सडकमा यत्रतत्र बग्ने भएको हुँदा उचित ढल निर्माण, फोहोर पानीको व्यवस्थापनका लागि योजनामा समावेश गरीदिन मन्त्रालयलाई आग्रह गरिएको उनले बताए ।