
काठमाडौँ । निको भएपछि निर्देशक तुलसी घिमिरे आगामी फिल्म ‘पहाड’को छायांकनमा फर्किएका छन् । छायांकन सुरु भएको दोस्रो दिनमै उनी थलिएपछि सुटिङ रोकिएको थियो ।
चितवनको एक अस्पतालमा राखेर उनलाई निमोनियाको उपचार गरिएको थियो । अहिले निको भएपछि छायांकन थलो गोरखा फर्किएर घिमिरेले फिल्मको छायांकन सेट ज्वाइन गरेका छन् ।
अहिले पूर्वनिर्धारित तालिकाअनुसार छायांकन सुरु भएको घिमिरेले बताए । नेपालका पहाडी बस्ती रित्तिएपछि त्यसले ल्याउने सामाजिक र आर्थिक असरको कथावस्तुमा फिल्म बन्न लागेको हो ।
स्वास्थ्यलाभ गरेर छायाङ्कनमा फर्किएपछि निर्देशक घिमिरेले नयाँ ऊर्जाका साथ काम भइरहेको बताए । ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहेका छन् । भारतीय फिल्म, वेब-सरिज र सिरिज समेत खिचेका प्रधानको यो पुनरागमन फिल्म समेत हो ।
३० वर्षपछि प्रधान नेपाली फिल्म खिच्न आएका हुन् । छायाङ्कन गोरखा र आसपासमा २५ दिन र भारतमा १५ दिन हुने निर्देशक घिमिरेले जानकारी दिए ।भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेणुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यको अभिनय छ । घमिरेकी कान्छी छोरी पञ्चमीले पनि यसैबाट डेब्यु गर्दैछिन् ।घिमिरेकी जेठी छोरी भावनालेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् । फिल्ममा रञ्जित गजमेर सङ्गीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशकको रुपमा हुनेछन् ।
रिम्पोछे लामा थिङ् र सुरेश लामा थिङ सहनिर्माता रहेको फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ । पछिल्लो पटक ‘दर्पणछायाँ २’पछि घिमिरे निर्देशनमा फर्किन लागेका हुन् ।