
बिर्तामोड । भूतपूर्व सैनिकहरुको पुनर्वास भूमि बिर्तामोड १० सैनिक बजारको पहिचानलाई उजागर गर्न बिहीबारदेखि सैनिक महोत्सव शुरु भएको ।
तेस्रो संस्करणको रुपमा सैनिक महोत्सवलाई निरन्तरता दिइएको हो । फागुन १८ गतेसम्म तेस्रो संस्करणको सैनिक महोत्सव आयोजना गरिएको हो ।
बिर्तामोड नगरपालिकाको १० नं वडा कार्यालयको सहयोगमा वडा कार्यालयदेखि उत्तरपट्टि जातीय भेषभूषासहितको तेस्रो ऐतिहासिक सैनिक महोत्सव आयोजना गरिएको वडाध्यक्ष दूर्योधन गुरुङले बताए ।
यसअघि २०७५ मा पहिलो सैनिक महोत्सव र त्यसको अर्कोवर्ष दोस्रो सैनिक महोत्सव आयोजना गरिएको थियो । त्यसपछि कोरोना संक्रमणका कारण रोकिएको सैनिक महोत्सवलाई यसवर्ष निरन्तरता दिइएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।
उनले भूतपूर्व सैनिकहरुको थलो, बहुसंख्यक जातजातिको बसोबासस्थल, खेलाडीको उर्वरभूमि, महाभारतकालीन पोखरी र विभिन्न मठमन्दिर भएको ठाउँ सैनिक बजारको चिनारीलाई उजागर गर्न महोत्सव आयोजना गरिएको जानकारी दिए ।
सो महोत्सवलाई बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् । वडाध्यक्ष गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, राजवंशी समाज विकास समितिका रुपेश राजवंशी, शिक्षक सावित्री गुरुङलगायतले महोत्सव सफलताको शुभकामना दिएका थिए ।
महोत्सव उद्घाटन अघि विभिन्न जातजातिको झाँकीले सैनिकबजार परिक्रमा गरेको थियो । महोत्सवमा विभिन्न जातजातिका भेषभूषाका ६ वटा र व्यापारिक २५ वटा स्टल रहेको महोत्सव आयोजक समितिका सचिव खुबराज भट्टराईले जानकारी दिए ।
मनोरन्जनका लागि महोत्सवस्थलमा विभिन्न खेलतमासाहरु रहेका छन् ।
सन्तोष गुरुङको अध्यक्षतामा १३ सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको तथा विभिन्न उपसमितिहरु गठन गरेर महोत्सव सञ्चालन गरिएको छ ।
महोत्सवमा कमल खत्री, प्रीती आले, मेलिना राई, राजनराज शिवाकोटी, रचना रिमाल, टीका प्रसाईं, राजेशपायल राईका साथमा स्थानीय कलाकारहरूको प्रस्तुति रहने प्रचारप्रसार उपसमितिका संयोजक खड्गबहादुर गुरुङले जानकारी दिएका छन् ।
२०२० सालमा तत्कालीन राजा महेन्द्रले इलाममा रहेका भूतपूर्व सैनिकका २०० परिवारलाई त्यस स्थानमा पुनर्वास गराएका थिए । पूर्वराजाको निर्देशन पछि भूतपूर्व सैनिकका परिवारले १६ सय बिगाह वनक्षेत्र आवाद गरी बस्ती बसालेको समयदेखि त्यहाँको नाम सैनिक रहन गएको हो ।