
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दूधेमा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाले कार्यालय परिसरमा पायल्स र फिस्टुला सम्बन्धी स्वास्थ्य शिविर चलाएको हो ।
स्वास्थ्य शिविरमा १८ पुरुष र १६ जना महिला गरी ३४ जनाले सेवा लिएको संस्थाले जनाएको छ । पायल्स र फिस्टुलाको रोगीहरु धेरै रहेको पाइएको तर विभिन्न कारणले औषधि उपचार नगराई घरमै बसेका सदस्यहरुलाई सेवा दिइएको संस्थाकी व्यवस्थापक देवी दाहालले बताइन् ।
शिविरमा अभियान क्लिनिक बिर्तामोडका प्रमुख डा. प्रदिपकुमार यादवसहितको प्राविधिक टोलीले स्वास्थ्य परीक्षण गरेको जनाइएको छ । शिविरमा बिरामीले बाहिर उपचार गराउनु पर्ने अवस्थाको बारेमा परामर्शसमेत दिइएको थियो ।