
काठमाडौं । आफ्नो बहुचर्चित विश्व सांगीतिक टूर ‘लास मुजेरेस या नो लोरन’मा निस्किएकी पपस्टार शकिरालाई पेटको समस्याले अस्पताल भर्ना गरिएको छ । जसको कारण पेरुमा हुने उनको कन्सर्ट स्थगित गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
४८ वर्षीया गायिकाले अस्पतालको आकस्मिक कक्षमा आफू उपचाररत रहेको जानकारी दिएकी छन् । सामाजिक संजाल एक्समा पोस्ट गरिएको सूचनामा शकिराले कन्सर्ट रोक्नुपरेकोमा दुःख व्यक्त गरेकी छन् ।उनी लेख्छिन्, ‘म तपाईं सबैलाई जानकारी गराउँदै माफी माग्न चाहन्छु कि गएराती पेटको समस्याले म अस्पतालमा जानुपर्यो । अहिले पनि उपचाररत छु ।’ चिकित्सकले उनलाई स्टेजमा नगइकन आराम गर्न सल्लाह दिएका छन् ।
पेरुका फ्यानमाझ प्रस्तुति दिनको लागि आफू प्रतीक्षारत रहेको बेला कन्सर्ट रद्द गर्नुपर्दा दुःखित रहेको उनले जनाएकी छिन् । आयोजकले पूर्वनिर्धारित मितिमै कन्सर्ट गर्न प्रतिबद्ध रहेको सन्देश दिइरहेको उनले बताएकी छन् ।‘म तपाईं सबैलाई माया गर्छु र बुझाइलाई कदर गर्छु’ उनले लेखेकी छिन् । स्वास्थ्य समस्याको बाबजुद ‘हिप्स डन्ट लाई’ गायिका चाँडै स्टेजमा फर्किनेमा आशावादी छिन् । सोमबार डिस्चार्ज भएर टूरलाई निरन्तरता दिने उनको आशा छ । योजनाअनुसार निको भइन भने कोलम्बिया जानुअघि पेरुमा प्रस्तुति दिनुपर्नेछ ।
शाकिराले फेब्रुअरी ११ मा ब्राजिलको रियो दि जेनेरियोबाट भ्रमण सुरु गरेकी थिइन् । उत्कृष्ट ल्याटिन पप एल्बमको लागि यसवर्ष ग्रामी अवार्ड जितेको केही दिनमै उनी टूरमा निस्किएकी हुन् । उनको दक्षिण अमेरिकी यात्रा ८ मार्चसम्म चल्नेछ । त्यसपछि उनी मेक्सिकोको लागि तयार हुनेछिन् ।