
झापा । झापाको कचनकवल–६ कमल बस्तीमा भएको आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बनियानी बजारदेखि करिब ७०० मिटर पश्चिम रहेको कमल बस्तीमा कमलप्रसाद खतिवडाको दुईतले (तल्लो भाग पक्की, माथिल्लो भाग काठको र टिनको छानो भएको) १० कोठे घरमा आगलागी भएको हो।
आगलागीका कारण घरसहित घरभित्र रहेको नगद १ लाख रुपैयाँ, २५ तोला सुन, ७५ तोला चाँदी, २ थान एसी, २ थान स्मार्ट टेलिभिजन तथा अन्य सामग्री जलेर करिब ७० लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।
हिजो साँझ ७ः३७ बजे पूजाकोठामा बालेको दियोबाट आगो सल्किएर आगलागी भएको बताइएको छ। आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा भद्रपुर, मेचीनगर र बिर्तामोड नगरपालिकाका बारुण यन्त्र परिचालन गरिएको थियो।
अन्ततः राति १० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।