![](https://sajhamanch.com/wp-content/uploads/2025/02/Arjundhara-Vs-Bhadrapur.jpeg)
बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा अर्जुनधारा नगरपालिका उपाधि नजिक पुगेको छ ।
स्थानीय डोमालाल राजवंशी रंगशालामा आज शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै अर्जुनधारा नगरपालिका फाइनलमा पुगेको हो । अर्जुनधाराले फाइनल खेलमा कनकाई नगरपालिकासँग भेट पक्का गरेको छ ।
अर्जुनधाराका लागि कप्तान जेनिफर राना मगर र मेनुका आले मगरले गोल गरेका हुन् । खेलको अधिकांश समय अर्जुनधाराले भद्रपुरलाई दबावमा राखेको थियो । पहिलो हाफ दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए ।
तर, दोस्रो हाफको २ मिनेट मै अर्जुनधाराकी जेनिफरले गोल गर्दै अग्रता दिलाएकी हुन् । यस्तै, मेनुकाले दोस्रो हाफको १३औँ मिनेटमा गोल गर्दै अर्जुनधाराको अग्रता दोब्बर बनाएर जित दिलाएकी थिइन् ।
खेलको प्लेयर अफ द म्याच अर्जुनधाराकी रेनु लिम्बू घोषित भइन् । उनलाई प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर, जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्का र बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले पुरस्कारस्वरुप नगद ५ हजार रुपैयाँ प्रदान गरे ।
अर्जुनधारा र कनकाई नगरपालिका बीच फागुन ५ फाइनल खेल हुनेछ । विजेता टोलीले ३ लाख रुपैयाँसहित आकर्षक ट्रफी पाउने छ ।
यस्तै, उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।