२०८१ फागुन २, शुक्रवार , ०७:४७:४६ बजे

Sajhamanch
'

मिस नेपाल आयोजकले फेसन डिजाइनरको प्रतिस्पर्धा गर्ने

शुक्रवार, फागुन २, २०८१

काठमाडौं । ३ दशकदेखि मिस नेपाल प्रतियोगिता आयोजना गर्दै ‘द हिडन ट्रेजर’ले अबदेखि फेसन डिजाइनरबीच प्रतियोगिता आयोजना गर्ने भएको छ ।

फेसन उद्योगलाई रचनात्मकता, नवीनता र उद्यमशिलतालाई बढावा दिन ‘डिजाइनर अफ द इयर स् एडिसन वन’ आयोजना गर्ने जनाएको हो । पहिलो संस्करणको फिनाले अप्रिल पहिलो साता गर्ने तयारी छ ।आगामी पुस्तामा फेसन प्रवर्द्धन र प्रोत्साहन गर्नको लागि प्रतियोगिता गर्न लागिएको ‘द हिडन ट्रेजर’का निर्देशक प्रमोद कंशाकारले बताए । ‘यो कार्यक्रम फेसन उद्योगलाई रचनात्मकता, नवीनता र उद्यमशीलतालाई बढावा दिने द हिडन ट्रेजरको प्रतिबद्धताको विस्तार हो’ उनले भने ।

मिस नेपाल पेजेन्टजस्तै शैलीमा यसको प्रवद्र्धन गरिने जनाइएको छ । यसका लागि देशका प्रतिष्ठित मिडियासँग सहकार्य गर्ने संस्थाको तयारी छ । प्रतियोगिताको लागि पोखरा, धरान, नेपालगञ्ज र काठमाडौंमा अडिसन आयोजना हुने भएको छ । इच्छुकलाई आवेदन दिन समेत द हिडन ट्रेजरले आग्रह गरेको छ ।काठमाडौंमा हुने फिनालेमा डिजाइनरले तीन विधामा आफ्नो रचना प्रस्तुत गर्नेछन् । जसमा नेसनल कस्ट्युम, इभिनिङ गाउन र आफ्नै कलेक्सनजस्ता विधा छन् । निर्णायकले विजेता छनोट गर्नेछन् ।

विजेताले तयार पारेको डिजाइनलाई मिस नेपालका विजेताले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिरिने समेत जनाइएको छ । साथै, २०२५ को मिस नेपालको इभेन्टमा डिजाइनको मौका समेत प्राप्त हुनेछ । यसबाहेक विजेतालाई नगद पुरस्कार समेत प्रदान गरिने भएको छ ।

फिनालेमा उत्कृष्ट मोडलहरूलाई प्रस्तुत गरिने र तीमध्ये सर्वोत्कृष्ट मोडललाई मिस नेपालको आउँदो संस्करणमा सीधै प्रवेश पाउने समेत जनाइएको छ ।

‘हामी विश्वास गर्छौं कि ‘डिजाइनर अफ द इयर संस्करण १’ले महत्वाकांक्षी फेसन डिजाइनरका लागि परिवर्तनकारी प्लाटफर्ममात्र प्रदान गर्दैन, बरु विश्वव्यापी मञ्चमा नेपाली फेसन उद्योगको विकास र पहिचानमा पनि योगदान पुर्‍याउनेछ’ हिडन ट्रेजरले भनेको छ ।

सम्बन्धित खबर