२०८१ माघ २९, मङ्गलवार , ०९:१५:०४ बजे

Sajhamanch
'

प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिता : झापा विरुद्ध अर्जुनधाराको १६ गोल !

मङ्गलवार, माघ २९, २०८१

बिर्तामोड । अर्जुनधारा नगरपालिकाको टिमले अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज मंगलबार भएको दोस्रो क्वाटर फाइनल खेलमा झापा गाउँपालिकाको टिममाथि १६ गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

यो जितसँगै अर्जुनधाराले उपाधि माथि दाबेदारीसमेत प्रस्तुत गरेको छ ।

एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । यस्तै, मेनुका मगरले पनि ह्याट्रिक पूरा गरिन् । सुरुवाती गोल जेनिफरले खेलको ६ मिनेटमै गरेकी थिइन् ।

उनले खेलको ४०औँ मिनेटसम्म ह्याट्रिक पूरा गरेकी थिइन् । दोस्रो गोल १३ मिनेटमा गरेकी जेनिफरले फेरि ३८ र ४६औँ मिनेटमा थप गोल गरेर अहिलेसम्मकै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा नाम दर्ता गराएकी छन् ।

पहिलो खेलमा पनि जेनिफर एक्लैले दमक नगरपालिका विरुद्ध ५ गोल गरेकी थिइन् ।

यसैगरी, मेनुकाले खेलको ११, ३५ र ५५औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । कुसुम खतिवडा, मञ्जली कुमारी योञ्जन र मन्जिला योङहाङको नाममा समान २२ गोल दर्ता भएको छ ।

अर्जुनधाराका लागि कुसुमले खेलको १७ र १९औँ, मञ्जलीले ३४ र ३६औँ तथा मन्जिलाले खेलको ४२ र ५२औँ मिनेटमा गोल गरेकी हुन् । यस्तै, रेनु लिम्बूले खेलका ४५औँ मिनेटमा गोल गरेकी थिइन् भने एक गोल आत्मघातीस्वरुप उपहार मिलेको थियो ।

अर्जुनधाराकी कुसुम खतिवडा प्लेयर अफ द म्याच बन्दै नगद ५ हजार पाउन सफल भइन् । भोलि कमल गाउँपालिकाले मेचीनगर नगरपालिकासँग तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।

फागुन ५ गते हुने फाइनल खेलको विजेताले ३ लाख रुपैयाँसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

सम्बन्धित खबर