काठमाडौं । गायिका शान्तिश्री परियारलाई भाग्यले साथ दिएको हुनुपर्छ । उनी अहिले युट्युवमा सर्वाधिक सुनिने संगीतकर्मी हुन् । पछिल्लो साता उनका दुई गीतले प्लाटफर्ममा इतिहास रचे ।
उनको स्वर रहेको ‘रुकुम मैकोट’ छोटो समयमै १० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो । उनको अर्को गीत ‘अरेली काँडैले’ युटयुवमा १० करोड भ्यूज पाउने पहिलो लोकगीत बन्यो ।शान्तिश्री अहिलेको डिमान्डेड गायिका हुन् । रोल्पाको दुर्गम गाउँको निम्न मध्यमवर्गीय परिवारमा जन्मिएकी शान्तिश्रीले कलाकर्मबाटै सम्पत्ति जोड्न सकिन्छ भन्ने सन्देश पनि दिएकी छन् । उनले हालै गोंगबुको गणेशस्थानमा ४ करोड मूल्य पर्ने घर किनिन् ।
केही दिनअघि उनी यो नयाँ घरमा सरेकी छिन् । यसअघि उनी सामाखुसीमा भाडाको घरमा बस्दै आएकी थिइन् । २०६८ सालमा उनले धादिङका नारायण भुजेलसँग विवाह गरिन् । उनीहरूका ४ वर्षकी एक छोरी छिन् ।उनको गायन सफलता लोभलाग्दो छ । कुनै समय गिट्टी कुट्ने काम समेत गरेकी उनी सांगीतिक क्षेत्रमा भविष्य बनाउन २०६४ सालमा काठमाडौं आएकी थिइन् । राजधानीमा उनले दोहोरी साँझमा काम गर्दै गायन यात्रालाई अगाडि बढाइन् । २०७४ सालमा सार्वजनिक ‘बोल माया’ बोलको गीतपछि उनी सधैं चर्चाको शिखरमा रहिन् । त्यसयता ‘गलबन्दी’, ‘अरेली काँडैले’ हुँदै ‘रूकुम मैकोट’ सम्म आउँदा उनका दर्जनौं गीत सुपरहिट छन् ।