कमल । नेकपा (एमाले) कमल गाउँ कमिटीको आयोजनामा यही फागुन ७ गतेदेखि अन्तर वडास्तरीय नक आउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
नेकपा (एमाले) कमल गाउँ कमिटीले आज प्रतियोगिताको लागो सार्वजनिक गर्दै अन्तर वडास्तरीय प्रथम कमल एमाले कप सञ्चालन हुने जानकारी गराएको हो ।
फुटबल प्रतियोगिता कमल ३ स्थित केर्खा खेल मैदानमा हुनेछ । प्रतियोगिताको लोगो नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य तथा झापा क्षेत्र नम्बर ५ का इन्चार्ज दीपक कार्कीले सार्वजनिक गरेका हुन् ।
फुटबल प्रतियोगितामा ७ वटा वडाका एक एकवटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताका खेलाडीहरु नेकपा एमाले कमल अन्तरगतका एक हजार २०० पार्टी सदस्यहरू मध्येबाट मात्र सहभागी हुन पाउने पत्रकार सम्मेलनमा बताइएको छ ।
प्रतियोगितामा विजयी हुने टिमले २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र पाउने छ भने उपविजयी टिमले १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र पाउने जनाइएको छ ।
प्रत्येक खेलको म्यान अफ द म्याचले ३ हजार रुपैयाँसहित कप र प्रमाण पत्र पाउने छन् । त्यस्तै वेस्ट स्ट्राइकर, वेष्ट मिडफिल्डर, वेष्ट गोल किपर, वेस्ट डिफेन्डर र म्यान अफ द सिरजले २ हजार रुपैयाँसहित कप र प्रमाणपत्र पाउने नेकपा एमाले कमल गाउँ कमिटीका अध्यक्ष हरि ढकालले जानकारी दिए ।
नेकपा (एमाले) केन्द्रीय कमिटीले माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रित जरा अभियान सञ्चालन गरेको छ । जरा अभियान अन्तर्गत साङ्गठनिक कार्यका अतिरिक्त रचनात्मक कार्य गर्न निर्देशन भए बमोजिम कमल गाउँ कमिटीले युवाहरू बीच रचनात्मक कार्य गर्न लागेको केन्द्रीय कमिटी सदस्य तथा क्षेत्र नम्बर ५ का इन्चार्ज कार्कीले अवगत गराए ।