![](https://sajhamanch.com/wp-content/uploads/2024/12/Jhapa-Gaupalika-.jpeg)
- नेत्रबिक्रम बिमली
झापा । झापा गाउँपालिकाले किसानलाई सिंचाइ मोटर र स्प्रे ट्याङ्की वितरण गरेको छ ।
पालिकाले कृषिमा विनियोजन गरेको बजेट मार्फत ५०/५० प्रतिशत साझेदारी कार्यक्रम अन्तरगत १७६ थान मोटर र ३३८ थान स्प्रे ट्याङ्की पालिकामा आयोजना गरिएको कार्यक्रममा वितरण गरिएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यवाहक पालिका अध्यक्ष अन्जुदेवी थपलियाले सिचाइ मोटर र स्प्रे ट्याङ्की वितरण गरेकी हुन् ।
झापा गाउँपालिकाले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले कृषि परियोजनको लागि विद्युत् महसुलमा ८० प्रतिशत र पालिकाबासीलाई ५० प्रतिशत महसुल तिरिदिँदै आएको कार्यवाहक अध्यक्ष थपलियाले बताइन् ।
कृषि उत्पादन बढाउनको लागि प्रत्येक वडाका कृषकको खेतबारीमै बिजुली पुर्याउने कार्यक्रमसमेत संचालनमा रहेको बताउँदै उनले चालू आर्थिक वर्षमा एक करोड रुपैयाँको बिजुलीको पोल र ६५ लाखको बिजुलीको तार खरिद गरिएको जानकारी गराइन् ।
पालिकाका कार्यवाहक अध्यक्ष थपलियाले निलम्वित अध्यक्ष जयनारायण साहाले अगाडि बढाएका सबैजसो कार्यक्रमहरुलाई निरंतरता दिँदै आएको बताइन् ।
स्थानीय तहको समग्र विकासको लागि जनप्रतिनिधिहरुले अगाडि सारेका महत्त्वपूर्ण कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले सो कार्यक्रम मार्फत जानकारी दिएका छन् ।
गाउँपालिकाको भूगोल मकै खेतीको क्षेत्र भएकोले यहाँका किसानलाई पालिकाले २०७४ देखि नै प्राथमिकतामा राखेर सहयोग पुर्याउदै आएको प्रमुख प्रशासकीय अधिकृत थपलियाको भनाई थियो ।
प्रमुख प्रशासकीय अधिकृत थपलियाका अनुसार टेन्डर मार्फत ४९ लाख ६७९ रुपैयाँमा पानी तान्ने मोटर र स्प्रे ट्याङ्की खरिद गरिएको हो ।
किर्लोस्कर कम्पनीको २ हर्ष पावरको मोटरको लागि किसानले ११ हजार ८० रुपैयाँ व्यहोरेका छन् भने पालिकाले पनि त्यति नै रकम व्यहोरेको छ ।
त्यस्तै स्प्रे ट्याङ्कीमा पालिकाले १ हजार ५८५ रुपैयाँ व्यहोर्ने छ भने सुविधा प्राप्त गर्ने किसानले सोही रकम थप गरेर सामग्री बुझिएका प्रशासकीय अधिकृत थपलियाले बताए ।
प्रशासन शाखा प्रमुख युवराज कोइरालाले सञ्चालन गरेको सो कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादव, ७ का वडाध्यक्ष शखीचन्द्र ठाकुर, कृषि शाखाका निवर्तमान प्रमुख जगतनारायण मण्डल, कृषक एवं शिक्षा समिति सदस्य सुन्दरलाल गणेश, कृषक तविजो मिया, कुमार मैनाली लगायतले आआफ्नो धारणा राखेका थिए ।