![](https://sajhamanch.com/wp-content/uploads/2025/02/Bartaman-sahitya.jpeg)
भद्रपुर । वर्तमान साहित्य प्रतिष्ठान भद्रपुर १० चन्द्रगढीको २७औं वार्षिक साधारण सभाको अवसर पारेर भद्रपुरमा कविता वाचन गरी सम्पन्न गरिएको छ ।
आयमेली आन्दोलनका प्रवर्तक इन्द्रबहादुर राईको ९८औं जन्मजयन्ती मनाउँदै क्यानभाषमा अभिनय तथा कविता वाचनसहित साधारण सभा सम्पन्न गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा नेपाल नाट्यकला प्रतिष्ठानका प्राज्ञसभा सदस्य सञ्जय वान्तवा राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी कविहरुले आफ्ना रचना प्रस्तुत गरेका थिए । सो कार्यक्रममा विभिन्न चित्रहरूको भावमा आधारित रहेर कलाकारहरूले अभिनय गर्दै नाटकसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै प्रतिष्ठानका पूर्व अध्यक्ष राजु वरालले नयाँपनसहितको नेपाली साहित्य सिर्जनामा लक्षित प्रतिष्ठान निरन्तर लक्ष अनुरूप काम गरिरहेको जानकारी दिए ।
उपाध्यक्ष विकास पाण्डेले सञ्चालन गरेको कार्यक्रममा झापा लगायतका जिल्लाबाट विभिन्न साहित्यिक स्रष्टाहरू सहभागी भएका थिए । नेपाली साहित्य जगतमा आयमेली आन्दोलनलाई प्रवर्धन गर्न झापा सदरमुकामका युवाहरूले गठन गरेको प्रतिष्ठान निरन्तर साहित्यिक गतिविधि गरिरहेको छ ।