![](https://sajhamanch.com/wp-content/uploads/2025/02/anshverma_kpoli.jpg)
काठमाडौं । सामाजिक संजालका चर्चित ‘कन्टेन्ट क्रिएटर’हरूले सरकारलाई सामाजिक संजाल नियमन गर्न तर बन्द नगर्न सुझाव दिएका छन् । टिकटकर अंश बर्मा र मिस पबीले विहिबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर युवालाई सामाजिक संजालमा इन्गेज गर्ने वातावरण बनाइराख्न सुझाव दिए ।
प्रधानमन्त्रीसँगको भेटपछि कुरा गर्दै कन्टेन्ट क्रिएटर अंश वर्माले भेटमा आफूले सामाजिक संजालको नियमन गर्न तर बन्द नगर्न आग्रह गरेको बताए । ‘अघिल्लो सरकारले जस्तै बन्द नगर्न मैले भनेँ’ अंश बर्माले भने, ‘सामाजिक संजाल नेपालमा दर्ता हुनु राम्रो हो । फेक आइडीबाट गलत प्रचार भए हामीले रिपोर्ट गर्ने ठाउँ त हुनुपर्यो नि । तर, नियमनमा जोड दिनुपर्यो ।’‘युवालाई सामाजिक संजालमा रचनात्मकरुपमा इन्गेज गराइराख्न हामीले भनेका हौं’ अंश बर्माले भने । यस्तै सुझाव मिस पबीले पनि प्रधानमन्त्री ओलीलाई दिएकी छन् । प्रधानमन्त्री कार्यालयले भेटेर छलफल गर्न बोलाएपछि अंश बर्मा र मिस पबी बेलुका बालुवाटार पुगेका थिए ।
बुधबार मात्रै, संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्ता हुन नआउने सामाजिक संजाललाई प्रतिबन्ध लगाइने बताएका थिए । काठमाडौं महानगरका मेयर बालेन शाहले पनि गीतमार्फत सरकारको आलोचना गरेका थिए । विहिबार मात्रै संसद बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक संजाल विधेयकबारे सरकारको आलोचना गरेका थिए ।यो पृष्ठभूमिमा प्रधानमन्त्रीले विहिबार बेलुका चर्चित कन्टेन्ट क्रिएटरहरूलाई भेटेका हुन् ।
प्रधानमन्त्रीले पनि फेसबुकमा भेटबारे लेखेका छन्, ‘आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ । सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवि र अंशु वर्मासँग साँझ कुराकानी भयो । उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो ।’