२०८१ माघ १६, बुधवार , ०८:५४:४३ बजे

Sajhamanch
'

भद्रपुरका मूल सडक असहज बन्दै

बुधवार, माघ १६, २०८१
  • द्रोण अधिकारी

भद्रपुर । जिल्लाको सबैभन्दा पुरानो भद्रपुर नगरपालिका, जो स्थापनाको ७२ वर्ष पूरा हुँदा र कुशल नेतृत्व र इमान बोकेको प्रशासक नपाउँदा निकै ठूलो उथपुथलको सामना गरिसकेको छ ।

नेपालकै पुराना नगरपालिकाको इतिहासको पानामा सुरक्षित यस नगरपालिकाको भौतिक पूर्वाधार विकासदेखि मानव विकास र जनजीविकाको अवस्थासम्म हेर्दा परिवर्तनका सवै सम्भावनाले यथोचित ठाउँ पाउन सकेका छैनन् ।

जुन समयमा यस नगरको गठन भयो त्यस बेलाको रूप सही र व्यवस्थित थियो । तर अहिले स्थापनाको सात दशक पार गरिसकेको अवस्थामा नगरको स्वरूप अव्यवस्थित बजार र सडकका रूपमा रूपान्तरण हुँदै गइरहेको छ । सडक अतिक्रमण गरेर व्यापार व्यवसाय गर्नेहरूका कारण बजार क्षेत्र र सरकारी कार्यालय क्षेत्रमा आवतजावतको निकै ठूलो समस्या छ ।

झापा जिल्लाको सदरमुकामसमेत रहेको भद्रपुरमा विगतको जस्तो सानो स्वरूपले अहिले नगरको बजारीकरण सुहाउँदैन । सदरमुकाम रहेको चन्द्रगढी क्षेत्रमा नियम विपरित सडक मिचेर सरकारी कार्यालय आसपासका सडक हिड्नै नसक्ने गरी अतिक्रमण भइरहेका कारण आवागमनमा सर्वसाधारणलाई निकै सास्ती व्यहोर्नु परिरहेको छ । नागरिकको घर आँगनको पहिलो सरकार स्थानीय सरकारले आफ्नो मातहतका सडक आवागमन विपरित अन्यत्रै प्रयोग भइरहँदा समेत देखेको नदेखै गरिरहेको छ ।

संघीय सरकारको नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारी आफ्नै कार्यालय अगाडिको सडक तथा खाली सरकारी भवनमा भइरहेका अवैध कृयाकलाप रोक्ने प्रतिवद्धता जनाएर कार्यभार संहाल्ने कार्यान्वयनमा नपुगी नागरिकका समस्या अव्यवस्थित सडकमै छोडेर कार्यकाल पूरा गरेर जाने परम्परा नै स्थापित भइसकेको छ ।

मेची पूल निर्माण अगाडि भद्रपुर बजारको मूल सडक सहज नै मान्नु पर्ने अवस्थामा थियो । तर, अहिले मेची पूल निर्माण पश्चात मुख्य बजारको सडक असहज बन्दै गइरहेको छ ।

साँघुरो सडकका कारण आवतजावतमा समस्या थपिँदै छ । न्यूनतम मापदण्ड समेत नपुगेको बजारको मूल सडक व्यापारका नाममा आफैं अतिक्रमणमा छ । जसको असर भद्रपुर बजारबाट आवतजावत गरिरहेका यात्रुले भोगिरहेका छन् ।

यस समस्याको निराकरणका लागि स्थानीय सरकारले समेत ठोस कार्य योजना ल्याउन सकेको छैन । राजनीतिक मखुण्डोधारीले बजार क्षेत्रको मूल सडक फराकिलो बनाउन अवरोध गरिरहेका छन् । नगरको नेतृत्व अनिर्णयको बन्दी हुँदा स्थानीयबासी समस्यामा परिरहेका छन् ।

एक दशकयता भद्रपुर बजारलाई व्यवस्थित बनाउन सडक सहज बनाउने काममा नगरपालिका र झापा उद्योग वाणिज्य संघले समेत संयुक्त रूपमा चासो देखाएर विगत वर्षहरूमा सर्वपक्षीय भेला गरेका थिए । संस्थागत रूपमै विभिन्न समयमा आठ बुँदे निर्णयसमेत गरेका थिए । तर, त्यो निर्णय कागजमै सीमित बन्दा भद्रपुर बजारप्रति न त नगरपालिकाले उल्लेख्य प्रगति हुने गरी चासो देखायो, न त वाणिज्य संघले नै यहाँका व्यापारीको पक्षमा आवाज उठायो ।

नगरपालिकाले सार्वजनिक गरेको पछिल्लो निर्णय अनुसार जनता चोकदेखि भद्रपुर भन्सार कार्यालयसम्मको सडकमा खुद्रा तथा थोक व्यवसायीहरूले आफ्नो पसल क्षेत्रभित्रका सामग्री व्यवस्थापन गर्न तथा पसलको बरण्डा वा सडक पेटीको क्षेत्र निर्धारण गर्नुपर्ने भएमा नगर प्रहरीमार्फत सहजीकरण गर्ने भनिएको छ ।

यस्तै साविक जिल्ला हुलाक कार्यालयको पश्चिम तर्फको बाटोबाट उत्तर हुँदै प्रदीप वस्त्रालयसम्मको २ नम्बर सडकमा लाग्ने हाटबजार व्यवस्थापन गर्न कृष्ण हलदेखि झिम्की चोकसम्म ३ नम्बर सडकको प्रयोग गरिो भएको छ ।

अन्य विकल्पको बारेमा ५ नम्बर र ६ नम्बर वडा कार्यालय, भद्रपुर बजार व्यवस्थापन समिति, उद्योग वाणिज्य संघ र स्थानीय व्यवसायीहरूबाट स्थलगत अवलोकन अनुगमन गरी नगरपालिकामा सिफारिस गर्ने बताइएको छ ।

बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न तत्कालका लागि वान वे वा क्रसिङ आदि विधिको प्रयोग गर्ने तथा भन्सार पछाडिका खाली सडक र पुरानो सिनेमा हल जाने सडकलाई प्रयोग गर्नका लागि ट्राफिक प्रहरी र अन्य सुरक्षा निकायसँग समन्वय गर्ने, विद्यालय बस, एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारीसाधनबाहेक अन्य मालवाहक ठूला सवारी साधनहरूलाई बजार क्षेत्रमा हटिया लागेका दिन बुधवार र शनिवार बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म प्रवेश निषेध गर्ने निर्णय गरिएको थियो ।

यी निर्णयहरू कार्यान्वयन गर्न निर्णयकर्ताहरू हाल नेतृत्व गरिरहेका नगर सरकारका जिम्मेवार पक्ष आफैंले कार्यान्वयन गर्ने छाँटकाट देखाएको अवस्था छैन । बजारको मूल सडक अस्तव्यस्त बन्दा आवतजावत असहज छ । नागरिकको घरआँगनको शक्ति सम्पन्न नगर सरकारले चासो राखेर काम गर्ने हो भने भद्रपुर बजार तथा सरकारी कार्यालय क्षेत्रका मूल सडकको अस्तव्यस्तता हट्ने थियो ।

सडकमा अवैध रूपमा व्यपार गर्ने कार्य रोकेर महत्वपूर्ण सरकारी कार्यालय तथा वजार क्षेत्रका सडक फराकिला बनाउँदा जल्दोबल्दो समस्या हल हुन सक्थ्यो ।

सम्बन्धित खबर