बुद्धशान्ति । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगितामा बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिका सेमीफाइनलमा प्रवेश गरेका छन् ।
आज मंगलबार भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले झापा गाउँपालिकालाई १९८ रनले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको बिर्तामोडले झापा गाउँ गाउँपालिकालाई विशाल २५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
बिर्तामोडका लागि कप्तान समीर कार्कीले ७६ र सुवान्स बजगाईले ६७ रन बनाएका थिए। ठूलो लक्ष्य पछ्याउने क्रममा झापा १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५४ रन बनाउन सफल भयो।
बिर्तामोड लाई विजय दिलाउन महत्त्वपूर्ण ६ विकेट लिएका बिर्तामोडका विजय कार्की खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार रुपैयाँ पुरस्कार र ट्रफी प्राप्त गरे ।
त्यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा भद्रपुर नगरपालिकाले कनकाई नगरपालिकालाई ५२ रन अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।
पहिले ब्याटिङ गरेको भद्रपुरले कनकाई नगरपालिका सामु २३४ रनको ठूलो योगफल प्रस्तुत गरेको थियो । भद्रपुरले १९ ओभरमा सबै विकेट गुमाएको थियो । तापनि २३३ रनको विशाल रन बनाउन अङ्कित सुवेदीले ९९ रनको पारी खेलेका थिए ।
२३४ रनको लक्ष्य पछ्याएको कनकाई नगरपालिकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर १८१ रन मात्रै बनाउन सफल भयो। भद्रपुरलाई जित दिलाउन सानदार ९९ रन बनाउनुका साथै ३ विकेटसमेत लिएका अङ्कित सुवेदी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार रुपैयाँ पुरस्कार र ट्रफी पाए ।
भोलिको पहिलो खेलमा अर्जुनधारा नगरपालिका र गौरादह नगरपालिका भिड्ने छन् भने दोस्रो खेल कचनकवल गाउँपालिका र मेचीनगर नगरपालिका बीच हुनेछ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताए ।