२०८१ माघ १६, बुधवार , ०५:४१:५२ बजे

Sajhamanch
'

छाडा पशु नियन्त्रण गर्न कमलमा कान्जी हाउस सञ्चालन

मङ्गलवार, माघ १५, २०८१

कमल । छाडा पशुका कारण हैरान भएका झापाको कमल गाउँपालिका ३ सानो केर्खाका स्थानीयबासीले छाडा पशुलाई नियन्त्रणमा लिनका लागि कान्जी हाउस निर्माण गरेका छन् ।

छाडा छोडिएका चौपायाले खेतमा लगाएको बाली खाएर नोक्सान गरेपछि आजित भएका स्थानीयले छाडा पशु थुन्नका लागि वडा कार्यालय र स्थानीय प्रहरी प्रशासनको रोहवरमा कान्जी हाउस निर्माण गरेका हुन् ।

कान्जी हाउस निर्माण भएपछि अब खुल्लारुपमा छोडिएका पशुलाई नियन्त्रणमा लिएर कान्जी हाउसमा राखिने र सम्बन्धित पशुधनीसँग कृषकको बालीनालीमा पुर्याएको क्षतिको हिसाब गरी क्षतिपूर्ति भराउने र पहिलो पटकलाई प्रतिपशु ५०० रुपैयाँ जरिवाना लिएर छोडिन्छ ।

तर सोही पशु एक रात कान्जी हाउसमा रहेमा प्रतिदिनको थप १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । पटकेमा परेपछि १ हजार रुपैयाँ र ३५ दिनसम्म पनि पशुधनीले जरिवाना तिरेर आफ्नो पशु उकासेर नलगेमा सम्बन्धित निकायलाई जानकारी गराएर पशु लिलामी गरिने कान्जी हाउस व्यवस्थापन समितिका अध्यक्ष सागर चापागाईंले जानकारी दिए ।

शिवसतासी र इलामको चुलाचुलीबाट दैनिकरुपमा छाडा पशु आउने र स्थानीयको बालीनालीलाई नोक्सान पुर्याउनुका साथै सवारी दुर्घटनासमेत गराउने गरेको समितिका सचिव सुमन गिरीले बताए ।

सम्बन्धित खबर