बिर्तामोड । एपोलो पेन्ट्स बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागीलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले एउटा टिकट खरिदमा अर्काे टिकट निःशुल्क दिने भएको छ । अब १०० रुपैयाँमा दुईवटा प्रवेश टिकट पाइने भएको हो ।
महोत्सवलाई थप रोचक र चलायमान बनाउन महोत्सव आयोजक समितिले यस्तो निर्णय गरेको हो । टिकट लिनेहरुलाई एनसेलका दुईवटा सिम सित्तैमा दिइने छ भने एक प्याकेट सेनिटरी प्याडसमेत उपलब्ध गराउने भएको हो ।
यो निर्णय आज माघ १४ गते सोमबारबाट लागू गरिएको छ । माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर यो निणर्य लागू गरिने महोत्सव मूल आयोजक समितिका सदस्य विपीन बजगाईंले जानकारी दिए । महोत्सवमा सहभागीलाई साँझ ५ बजेसम्मका लागि यो सुविधा प्रदान गरिएको हो ।
माघ ८ गते सुरु गरिएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकनकर्ताहरुको उपस्थिति न्यून रहेपछि आयोजकले टिकमा सहुलियत गर्ने यस्तो अभ्यास गरेको हो ।
हरेक दिन राष्ट्रिय कलाकारहरले साँझ साङ्गीतिक प्रस्तुति दिँदै आएका छन् । आदिवासी जनजाति महासंघको समन्वयमा दिनभर विभिन्न जात जातिको सांस्कृतिक कार्यक्रमसमेत महोत्सवमा प्रस्तुत गरिँदै आएको छ ।