काठमाडौं । रोमान्टिक कमेडी फिल्म ‘माया प्रीति’ निर्माण हुने भएको छ । लामो समय अभिनयकर्ममा सक्रिय निशा अधिकारी यो फिल्ममा कार्यकारी निर्मात्रीको रुपमा संलग्न हुनेछिन् ।
फिल्म घोषणा गर्दै निशाले सामाजिक संजालमा लेखेकी छिन्, ‘फिल्म माया प्रीतिको कार्यकारी निर्माताको रूपमा नयाँ भूमिकामा रजतपटमा पुनरागमनको घोषणा गर्न पाउँदा उत्साहित छु । यो जादुयी र अविश्वसनीय यात्रा साझा गर्न अधैर्य छु ।’बैशाख मध्यदेखि छायांकन सुरु हुने फिल्मलाई अभि श्रेष्ठले निर्देशन गर्नेछन् । एचबीओ च्यानलका श्रृंखलामा इन्टर्नको अनुभव बटुलेका श्रेष्ठले केही अन्तर्राष्ट्रिय विज्ञापन पनि बनाएका छन् ।
क्रिएटिभ डिरेक्टरको रुपमा ‘रेशम फिलिली’ फेम्ड प्रणव जोशी छन् । कार्यकारी निर्माताको रुपमा निशा र सन्तोष कार्की हुनेछन् । कलाकार टुंग्याउन बाँकी रहेको फिल्मको यतिबेला प्रि–प्रोडक्सनमा काम भैरहेको छ ।‘पहिलेजस्तो तरिकाले फिल्म मेकिङ नहुने रहेछ । पर्दा पछाडि बसेर कार्यकारी निर्मात्रीको रुपमा कार्य गर्नेछु’ निशाले अनलाइनखबरसँग भनिन्, ‘मेरो प्यासन र मन नै फिल्म हो । फिल्म मेकिङमा धेरै विधा छन् । मलाई यसमा कर्पोरेट लेभलमा काम गर्ने मन छ ।’
फिल्ममेकिङको शैली र ऊर्जा बोकेका केही साथी मिलेर निर्माणमा अघि सरेको उनले बताइन् । ‘राम्रो टीम बनेको छ । यो पहिलो सौगात हो । यो टीमबाट अरु फिल्म पनि निकट भविष्यमा बन्नेछ’ निशाले भनिन् । ‘मिसन पैसा’बाट अभिनय करिअर थालेकी निशा पछिल्लो पटक ‘आँखा’मा पनि देखिएकी थिइन् ।