- नेत्रबिक्रम बिमली
हल्दिबारी। हल्दिबारी गाउँपालिकामा यो वर्ष एक हजार बिगाहा जमिनमा तोरी खेत गरिएको तथ्याङ्क प्राप्त भएको छ ।
गाउँपालिकाका ५ वटै वडामा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र)ले जानकारी दिएका हुन् ।
गाउँपालिका र वडा कार्यालयहरुले अनुदानमा ४ हजार ६९० किलोग्राम तोरीको बिउ वितरण गरेको थियो। प्रति बिगाहा ६५० किलोग्राम तोरी उत्पादन हुने प्रारम्भिक अनुमान कृषि शाखाले गरेको शाखाका प्रमुख छबिलाल गुरुङ्गले बताए ।
उनका अनुसार हल्दिबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त रहेको र अहिले यहाँका किसानका खेतबारीमा तोरी फुलेर पहेँलपुर भएका छन् ।
हल्दिबारी ५ का कृषक यादव नेपालले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने विश्वास व्यक्त गर्दै मूल्य र अरु बालीजस्तो झन्झटिलो नहुने हुँदा केही वर्षदेखि किसानहरुको तोरी खेतीमा आकर्षण बढदै गएको बताएका छन्। गत वर्ष प्रतिमन ६ हजार रुपैयाँका दरले तोरीको दाना बिक्री भएको थियो।
तोरी उत्पादनसँगै हल्दिबारीमा एकता बहुउद्देश्यीय सहकारी संस्था र प्रभात बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल उत्पादन, प्रशोधन र बिक्री गरिरहेका छन् । कृषकबाट खरिद गरेर तेल उत्पादन तथा बिक्री गर्दै आएको एकता बहुउद्देश्यीय सहकारीका अध्यक्ष हरिकृष्ण अधिकारीले बताए ।
उनका अनुसार संस्थाले व्यवसायिक प्रयोजनका लागि प्रतिलिटर ३५० र खुद्रा प्रतिलिटर ३६० का दरले तोरीको तेल बिक्री गर्दै आएको छ ।