झापा । गैँडाको खाग र लागूऔषधसहित काँकडभिट्टाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
बुधबार दिउँसो ३ः३० बजे मेचीनगर ६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट उनलाई पक्राउ गरिएको हो ।
गेष्ट हाउसको कोठा नं. १०२ बुकिङ गरी बसेका भारत पश्चिम बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामले लागूऔषध ल्याई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले कोठा तलासी लिएको थियो ।
त्यसक्रममा इन्टेक्स लेखिएको काटुनभित्र १ केजी ७०० ग्राम तौल भएको गैँडाको खाग, प्लाष्टिकसहित ३ ग्राम ७६० मिलिग्राम ब्राउनसुगर, पाइइभोन स्पास प्लस लेखिएको ट्याब्लेट १८ पत्ता, डिजिटल तराजु र मोवाईल १ थान फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाकी निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिएकी छन् ।