२०८१ पौष २४, बुधवार , ११:११:०३ बजे

Sajhamanch
'

हल्दिबारी १ का ७२१ परिवारलाई १ हजार ७ रुपैयाँमा विद्युतीय चुलो

बुधवार, पौष २४, २०८१

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नम्बर १ का ७२१ घर परिवारलाई विद्युतीय चुलो वितरण गरिएको छ । सो पालिकाले पहिलो चरणमा वडा नम्बर १ का ७२१ परिवारलाई मंगलबार चुल्हो वितरण गरेको हो ।

हल्दिबारी गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष देवीबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम पालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा गरिएको थियो । सो कार्यक्रममा उल्लेखित परिवारलाई १–१ थान विद्युतीय चुल्हो हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा मन्तब्य राख्दै पालिका अध्यक्ष लिङ्देनले यस्तो कार्यक्रम हल्दिबारीभर सञ्चालन गर्ने बताउँदै नेपालमै उत्पादन भएको विद्युत खपत गरी राज्यको आम्दानी बढाउन आग्रह गरे ।

विदेशबाट आयातित ग्यासको खर्चभन्दा विद्युतीय चुल्हो प्रयोग गर्दा ज्यादै सस्तो हुने बताउदै पालिका अध्यक्ष लिङदेनले जनतालाई राहत पुग्ने कुरामा आफू र पालिका लागिपरेको जिकिर गरे ।

विद्युतीय चुल्होको दिगो बजार विकास गरी स्वच्छ भान्सा निर्माण र स्वदेशी उर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्दश्यले विदेशी डोनर एजेन्सीको आर्थिक सहयोगमा प्क्टिकल एक्सन र सामुदायिक विद्युत उपभोक्ता रास्ट्रिय महासंघ नेपालको सहकार्यमा हल्दिबारीमा विद्युतीय चुलो वितरण गरिएको हो।

वडाध्यक्ष थापाका अनुसार बजार मूल्य ३ हजार ८९५ पर्ने विद्युतीय चुल्हो वडाबासी जनतालाई १ हजार ७ रुपैयाँमा उपलब्ध गराइएको छ । उनका अनुसार २ हजार ७० रुपैयाँ सामुदायिक विद्युत उपभोक्ता रास्ट्रिय महासंघ नेपालले व्यहोर्नेछ । ४ महिनासम्मको खाना पकाउदा लाग्दै आएको विद्युत महसुसमा लाग्ने शुल्कसमेत तिरिदिन लागेको छ ।

कार्यक्रममा सहभागीहरुलाई वडा सदस्य प्रकाश कार्कीले शाब्दिक स्वागत गरेका थिए भने वडा सचिव तुलसा खत्रीले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।