बिर्तामोड । अपाङ्गता भएका व्यक्तिहरुको लागि बिर्तामोड नगरपालिकामा आयोजित स्वास्थ्य शिविरमा २१६ जनालाई नयाँ कार्ड वितरण गरिएको छ ।
गत पुस ५ देखि १४ गतेसम्म नगरका सबै वडामा आयोजित शिविरमा रातो, निलो, पहेँलो र सेतो गरी चार प्रकारका कार्ड वितरण गरीएको हो ।
तथ्याङ्क अनुसार रातो २५ जना, निलो ९२ जना, पहेँलो ६७ जना र सेतो २८ जनालाई कार्ड वितरण गरिएको हो । थप ४ जनाको परिचय पत्र प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ ।
अपाङ्गताको गम्भिरताका आधारमा ४ भागमा परिचय पत्र वर्गीकृत हुने गरेको छ । क वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिका लागि रातो, ख वर्गमा पर्नेको लागि निलो, ग वर्गमा पर्नेको लागि पहेँलो र घ वर्गमा पर्नेको लागि सेतो रंगमा कार्ड वितरण हुने गर्दछ ।
करुणा फाउण्डेसनसँगको सहकार्यमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गतको सो शिविरमा १० वटा वडामा गरी ७७२ जनाले सेवा लिएका छन् ।
शिविरमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान तथा स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरुको स्वास्थ्य उपचार मात्र नभई शारीरिक जटिलता र आवश्यकताको विषयमा समेत लगत संकलन गरिएको करुणा फाउण्डेसनले जनाएको छ ।