२०८१ पौष २३, मङ्गलवार , ११:४६:५१ बजे

Sajhamanch
'

शिवसताक्षीतर्फको माइमेला यसवर्ष ५ दिन लगाइने

सोमवार, पौष २२, २०८१
  • सरोज भट्टराई

शिवसताक्षी । पूर्वकै प्रसिद्ध मेला कनकाई माई मेला यसवर्ष ५ दिन भव्य रुपमा सञ्चालन गर्ने गरी तयारी सुरु गरिएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित माइधारमा र कनकाई नगरपालिका वडा नं. ४ को कोटीहोम क्षेत्रमा धुमधामले लाग्ने गरेको छ । धार्मिक मेलाको रुपमा स्वतस्फूर्त लाग्दै आएको माईमेलाको पश्चिम खण्ड यसवर्ष शिवसताक्षी नगरपालिका वडा नं. १० ले लगाउने भएको छ । वडा कार्यालयले माइमेलालाई व्यवस्थित बनाउन तयारी सुरु गरेको वडा सदस्य दिपक पोखरेलले जनाएका छन् ।

मेलालाई व्यवस्थित गर्न र कनकाई पूलमा भीडभाड कम गर्नका लागि कनकाई नदीमा वैकल्पिक पूल निर्माणका लागि काम सुरु गरिएको शिवसताक्षी नगरपालिका वडा नं. १० वडाध्यक्ष तथा माइमेला संयोजक हर्क सिगुले जानकारी दिए ।

वडाध्यक्ष सिगुका अनुसार गएका वर्षहरु भन्दा ठूलो रुपमा मेला लगाउने योजना रहेको छ । मेला लगाउन ठेक्का दिँदा भिटौरी शुल्क महंगो भयो भन्ने व्यापारीको गुनासो आएपछि यसवर्ष वडाले आफैं मेलाको व्यवस्थापन गर्ने तयारी गरेको वडाध्यक्ष सिगुले बताए ।

उनले भने, ‘हामी गएका वर्षहरु भन्दा कम शुल्क तोकेर भिटौरी लिने व्यवस्था मिलाउँछौ । सबै व्यापारीहरुलाई मेलामा व्यवसाय सञ्चालन गर्न आग्रहसमेत गर्दछौ ।’

कनकाई माई विशेष गरी हिन्दू धर्मावलम्बीहरुको धार्मिक मेला भएको हुँदा मेलामा मकर नुहाउने, पूजा आराधना लगायत कार्यक्रम हुने गरेको छ । मेलामा विभिन्न खेल तमासा, पिङ, नौका, ड्रागन, सर्कस, बुगीबुगी डान्स, सरकारले मान्यता दिएको आधिकारिक खेलहरु, चिल्ड्रेन खेलहरु सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

यसवर्ष माइमेला ५ दिन लाग्ने व्यवस्था मिलाइएको छ । पौष २७ बेलुका सम्ममा सम्पूर्ण तयारी पूरा गरेर २८ गते दिउँसो १२ बजे मेला उद्घाटन गरिने छ भने माघ ४ गतेसम्म मेला सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

करिब ५ विगाह क्षेत्रफलमा लगाइने मेलाका लागि जग्गा व्यवस्था भइसकेको वडाध्यक्ष सिगुले जानकारी दिए । मेलामा यातायात व्यवस्थापन र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी तथा ट्राफिक प्रहरीलाई परिचालन गरिने छ ।

एसियन हाइवे निर्माणका चरणमा रहेकाले सडक छेउमा सवारी पार्किङ्गमा समस्या रहेको भन्दै वडाध्यक्ष सिगुले सडक उत्तरपट्टीको सागरनाथ वन क्षेत्रमा पार्किङ्गको व्यवस्था मिलाइने बताए ।

माघ १ गते मकर नुहाउन र धार्मिक अनुष्ठान गर्न नेपालका विभिन्न स्थानका साथै छिमेकी मुलुक भुटान, भारतको सिक्किम, असम, मनिपुर, दार्जीलिङ, सिलिगुडी लगायतका तीर्थालु भक्तजनहरु आउने गरेका छन् ।

सम्बन्धित खबर