बिर्तामोड । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले विपी कोइरालाले प्रतिपादन गरेको समाजवादी सिद्धान्त सहकारीका माध्यमबाट सहज रुपमा पूरा गर्न सकिने बताएका छन् ।
झापा जिल्ला सहकारी संघको आसन्न निर्वाचनलाई लक्षित गरेर शनिबार आयोजित सहकारीकर्मीहरुको भेलालाई सम्बोधन गर्दै पार्टीका जिल्ला सभापति थेवेले उक्त कुरा बताएका हुन् ।
पार्टी निकटका ब्यक्तिहरुले नेतृत्व गरेका जिल्लाभरका सहकारी संस्थामा आबद्ध अध्यक्ष एवं प्रतिनिधिहरुको भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सभापति थेवेले विपीकै पालामा नेपालमा सहकारी स्थापना भएको स्मरण गरे ।
सहकारीका माध्यमबाट समाज परिवर्तन र आयस्तर बृद्धि गर्न सकिने उनको भनाई थियो । सहकारी सञ्चालनमा पारदर्शीता, मितब्ययिता र ऐन एवं नियमावलीहरुको पूर्ण कार्यान्वयन गरेर सदस्यहरुको आवश्यकता अनुसार जीवनस्तर उकास्ने आयमूलक कार्यमा ऋण परिचालन गर्न उनले सहकारीकर्मीलाई आग्रह पनि गरेका छन् ।
जिल्ला सहकारी संघको आसन्न निर्वाचनमा संयोजनकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित उक्त भेलाले दुर्गाप्रसाद सापकोटाको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ ।
उक्त समितिका सदस्यहरुमा पुष्पराज कार्की, दिपक काफ्ले, देविका बस्नेत, पम्फा विक, लवकुमार चौधरी, युवराज गिरी, शेखरनाथ अधिकारी, भुपाल बस्नेत, मित्र खनाल, विनोद ढकाल, प्रकाश चुडाल, कर्म शेर्पा, टिकाराज सापकोटा, रोशन विष्ट लगायत छन् ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिका सदस्य एवं कोशी प्रदेश सहकारी विभागका संयोजक चन्द्रा खड्का भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस झापाका सचिव नवीन विमलीले गरेका थिए ।