अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ५ लक्ष्मीपुरस्थित बिहीबारे बजारमा मुख्य कार्यालय रहेको पाण्डव बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पुष्पबहादुर घलेको अध्यक्षतामा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीको प्रमुख आतिथ्यमा साधारणसभा उद्घाटन गरिएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ असार मसान्तसम्म एक करोड १८ लाख २३ हजार शेयर पुँजी रहेको संस्थामा एक हजार १८३ जना शेयर सदस्य रहेको अध्यक्ष घलेद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी संस्थाको साधारण जगेडा कोषमा ७ लाख ४२ हजार ४७२ रुपैयाँ, अन्य कोषहरु १५ लाख ५३ हजार ६० रुपैयाँ, निक्षेप हिसाब २ करोड ४२ लाख ६० हजार ८८३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले मुख्य कार्यालय र बिर्तामोडमा रहेको सेवा केन्द्रबाट सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
साधारणसभामा प्रमुख अतिथि ओली, संस्थापक अध्यक्ष अर्जुन रेग्मी, सल्लाहकार इन्द्रमणि पौडेल, पूर्व सचिव देवराज बुढाथोकी, आरोग्य कृषि सहकारीका ब्यवस्थापक शान्तिराम अर्याल लगायतले मन्तब्य राखेका थिए ।
सो कार्यक्रममा जेष्ठ सदस्यका रुपमा चन्द्रमाया पुरी, केशवकुमारी खनाल, संस्थापकका रुपमा अर्जुन रेग्मी, सल्लाहकार तथा पूर्व सचिवका रुपमा तेजकुमार गिरी, कर्मचारी भीमकुमारी अधिकारी, असल ऋणि मनोज विश्वकर्मा, असल बचतकर्ता लक्ष्मी खातीलाई सम्मान गरियो ।
संस्थाका उपाध्यक्ष देवीकुमारी घिमिरेले शाब्दिक स्वागत गरेको सो साधारण सभा कार्यक्रमको सञ्चालन सचिव अर्जुनमणि निरौलालले गरेका थिए ।