२०८१ माघ १९, शनिवार , ०१:४०:५६ बजे

Sajhamanch
'

पूर्वी नेपालमा संयुक्त पहिचानवादी मोर्चा घोषणा

शुक्रवार, पौष १२, २०८१

झापा । पूर्वमा पहिचानवादी मुद्दा उठाइरहेका चार वटा राजनीतिक पार्टीहरुले सक्षम राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्ने उद्घोषका साथ संयुक्त पहिचानवादी मोर्चाको घोषणा गरेका छन् ।

प्रा. डा. महेन्द्र लावतीले नेतृत्व गरेको संघीय संयोजक पहिचानवादी मोर्चा, केपी पालुङ्वाले नेतृत्व गरेको नेपाल जनमुक्ति पार्टी, उकेन्द्रसिंह थेगिमले नेतृत्व गरेको प्रदेश नं. १ पुनः नामङ्कन अभियान समिति र ज्ञानबहादुर गुरुङले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी, प्रदेश नं. १ समितिले संयुक्त मोर्चाको घोषणा गरेका हुन् ।

एकल जातीय राज्य, भ्रष्टाचार, असमानता, सबैखाले विभेद र अन्याय विरुद्ध लड्दै देश जिम्मा लिन सक्षम राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नको लागि संयुक्त पहिचानवादी मोर्चाको घोषणा गरेको नेता एलवी पालुङ्वाले जानकारी दिए ।

सुनसरीको धरानमा बसेको बैंठकपछि एक बिज्ञप्ती जारी गर्दै मोर्चाको घोषणा गरिएको नेता पालुङ्वाले पत्रकार सम्मेलनमा बताए ।

सांस्कृतिक विविधताले भरिपूर्ण समाजमा बहुसांस्कृतिक, बहुराष्ट्रिय र बहुल राष्ट्रिय राज्य स्थापना गर्न, पहिचानमा आधारित सक्कली संघीयता सुनिश्चित गर्न, भ्रष्टाचार नियन्त्रण तथा सुशासन स्थापना गर्न, देशमा समृद्धिको लहर ल्याउन र सर्वसाधरण नेपालीहरुको कल्याण गर्न एउटा इमानदार, जनमुखी राष्ट्रिय राजनीतिक शक्तिको आवश्यकता नागरिकहरुले महसुस गरेका छन् । त्यही टड्कारो आवश्यकता पूरा गर्नको लागि देशमा विस्तारित तर छरिएर रहेका पहिचानवादी संगठनहरु र अभियन्ताहरुलाई एक ठाउँमा ल्याउदै पाँच महिना भित्र देश जिम्मा लिन सक्षम राजनीतिक शक्ति निर्माणको शुरुवात गर्नको लागि पुष ११ गते धरानमा बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ ।

हाल चार संगठनबीच मोर्चा निर्माण भएको र अन्य संगठनहरुलाई पनि समावेश गर्दै लगिने निर्णय भएको जनाइएको छ ।

सम्बन्धित खबर