शिवसताक्षी । झापाको शिवसताक्षीमा आज ९५ वटा सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाइएको छ।
शिवसताक्षी नगरपालिका वडा नं. २ को पशु स्वास्थ्य केन्द्रमा सुरु भएको दुई दिवसीय शिविरमा उक्त संख्याका कुकुरहरुलाई रेविज विरुद्धको खोप र बन्ध्याकरण गरिएको हो ।
नगरपालिकाको ‘रेविज रोग नियन्त्रण अभियान’मार्फत सामुदायिक (छाडा छोडिएका) र घरमा पालिएका समेत ९५ वटा कुकुरलाई बन्ध्याकरणसहित रेविज रोग विरुद्धको खोप लगाइएको हो ।
सामुदायिक कुकुरले मानिस तथा पशु चौपायलाई टोकेर घाइते बनाउनाका साथै रेविज रोगको संक्रमण बढाउने, ट्राफिक आवागमनमा असर पुर्याउने र बालबालिकामा त्रास फैलाउने घटना बढेपछि नियन्त्रणका लागि बन्ध्याकरण र खोप कार्यक्रम चलाइएको नगर प्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए ।
रेविज एक घातक रोग हो जुन प्रायः कुकुरबाट मानिसमा सर्न सक्छ, त्यसैले यसलाई रोक्न खोप र बध्याकरण अत्यन्त महत्वपूर्ण रहेको उपप्रमुख नरमाया कार्कीले बताइन् । उनका अनुसार नगरपालिकाले विभिन्न स्थानहरुबाट कुकुरहरु भेला गरी खोपकेन्द्रसम्म ल्याउने प्रबन्ध मिलाएको थियो ।
उक्त अभियानमा छाउरी कुकुरको बन्ध्याकरण गरिएको र डाँगो कुकुरलाई रेविज रोग विरुद्धको खोप लगाइएको थियो । नेपाल एग्री लाइवस्टोक ट्रनिङ एण्ड रिसर्च सेन्टर सुन्सरीको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको हो ।
रेविज विरुद्धको खोप र बन्ध्याकरण कार्यक्रम शिवसताक्षी नगरपालिका पशु सेवा शाखाले आयोजना गरेको हो । कार्यक्रम भोलि शुक्रबारसम्म चल्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ।