बिर्तामोड । नेपाल जेसीजले झापाको वीरता लेडी जेसीजलाई दुई वटा अवार्ड प्रदान गरेको छ ।
५१औँ राष्ट्रिय महाधिवेशनको अवसरमा नेपाल जेसीजले वीरता लेडी जेसीजलाई उत्कृष्ट दुई वटा अवार्ड प्रदान गरेको हो । नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन मंगलवार सुनसरीको इटहरीमा सम्पन्न भएको थियो ।
नेपाल जेसीजका अध्यक्ष रविन पोखरेलले वीरता लेडी जेसीज सन् २०२४ का अध्यक्ष मेनुका ओलीलाई उक्त अवार्ड प्रदान गरेका हुन् । लेडी जेसीले वर्षभरि गरेका रचनात्मक कामको मूल्याङ्कन गरेर नेपाल जेसीजले एकसाथ आफ्नो संस्थालाई दुई वटा अवार्ड प्रदान गरेको अध्यक्ष ओलीले बताइन् ।
नेपाल जेसीजले वीरता लेडी जेसीजलाई शतप्रतिशत प्रभावकारी र चलायनमान संस्थाका रुपमा पहिलो अवार्ड दिएको हो । विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेकोमा लेडी जेसीजले दोस्रो अवार्ड पाएको हो ।
यसअघि हरेक महिना लक्ष्य अनुसारका कार्यक्रम पूर्व घोषित तालिकामा सम्पन्न गरेको जनाउँदै नेपाल जेसीजले वीरता लेडी जेसीजलाई अवार्ड प्रदान गर्दै आएको थियो ।
उत्कृष्ट दुई अवार्ड पाएपछि आफूहरु थप उत्साहित भएको र अझै मेहनतका साथ काम गर्ने हौसला मिलेको अध्यक्ष ओलीले बताइन् ।
देशभर नेपाल जेसीजका १७८ शाखा छन् । ती शाखाका लागि नेपाल जेसीजले विभिन्न विधामा अवार्ड प्रदान गरेको छ । तीमध्येका दुई वटा अवार्ड वीरता लेडी जेसीजले जितेको हो ।