२०८१ माघ १४, सोमवार , ०१:१५:४१ बजे

Sajhamanch
'

‘हेरिटेज पेटाइट युनिभर्स’ विधाकी विश्व सुन्दरी मनिष राजवंशी

मङ्गलवार, पौष ९, २०८१

मेचीनगर । झापा बाह्रदशीस्थित कुमाई गाउँकी मनिषा राजवंशीले शिक्षा, अभिभावकको साथ र आत्मविश्वासका कारण अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता जित्न सफल भएको बताएकी छन् ।

हालै थाइल्यान्डको बैंककमा सम्पन्न ‘हेरिटेज पेटाइट युनिभर्स २०२४’ को ताज पहिरिन झापाकी राजवंशी सफल भएको जनाएकी छन् ।

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता जित्ने राजवंशी समुदायकै प्रथम नेपाली (पहिलो राजवंशी विश्व सुन्दरी) मनिषाले शिक्षा नै सबै भन्दा ठूलो कुरा भएकोले आफ्नो समुदायलाई पनि यसैमा जोड दिन आग्रह गरेकी थिइन् ।

प्रेस क्लब मेचीनगरमा आयोजित पत्रकार भेटघाटमा मनिषा आफूले कहिलै पनि कल्पना गर्न नसकेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको विजेता बन्न सफल भएकोमा खुशी व्यक्त गरिन् ।

प्रतियोगितामा भारत, मेक्सिको, जापान लगायत ४४ मुलुकका सहभागीले उपाधिका लागि प्रतिष्पर्धा गरेका थिए । नेपालकी राजवंशी सबैलाई उछिन्दै विजेता बनेको बताइन् ।

राजवंशी समुदायको भाषा, कला, पहिरन र संस्कृति प्रस्तुत गरेको उनको भनाई छ । उनले यसअघि ‘मिस राजवंशी’को उपाधि जितेकी थिइन् । उनी हाल रत्न राज्य लक्ष्मी क्याम्पसमा समाजशास्त्रको स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययन गर्दैछिन् ।

काजी मिडिया एन्ड टेक्नोलोजीले आयोजना गरेको पत्रकार भेट कार्यक्रममा उनले लोकतन्त्र पोस्ट दैनिकमा समेत काम गरेको स्मरण गरेकी थिइन् । बिर्तामोडको मनकामना कलेजमा स्नातक तह अध्ययन गर्दा उनले नेपाली पत्रकारिता विषयको प्रायोगिक अभ्यास (इन्टर्नसीप) लोकतन्त्र पोष्ट दैनिकमा गरेकी थिइन् ।

सौन्दर्य प्रतियोगिता जितको श्रेय उनले आमा उर्मिला र हजुरआमा दिनु राजवंशीलाई दिएकी छन् ।

प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रममा मनिषाकी आमा उर्मिला राजवंशी, हजुरआमा दिनु राजवंशी, राजवंशी समाज विकास समितिका अध्यक्ष उत्तम राजवंशी लगायतको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन काजी मिडियाका सञ्चालक एवम् नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको उपाध्यक्ष अम्बिका भण्डारीले गरेकी थिइन् ।

सम्बन्धित खबर