काठमाडौ । चर्चित बलिउड पाश्र्वगायिका संजीवनीले आगामी नेपाली फिल्म ‘माइतीघर’को शीर्षगीतमा आवाज दिने भएकी छन् । यसअघि सोही नामबाट निर्माण भएको फिल्मको कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ‘’को नयाँ संस्करणमा उनलाई सुन्न पाइने भएको हो ।
यसअघि उक्त चर्चित गीतमा आशा भोसलेको आवाज थियो । संगीत जयदेव र शब्द किरण खरेलकै यथावत हुनेछन् । संजीवनीको स्वर र रिकेश गुरुङको एरेन्जमा कुनैबेलाको चर्चित गीतले नयाँ जीवन पाउनेछ । फिल्मका निर्माता रोहित अधिकारी र संजीवनीबीच सोमबार गीत रेकर्डबारे सहमति भएको छ ।आउने साता मुम्बईको एक स्टुडियोमा संजीवनीले आफ्नो आवाजमा गीत रेकर्ड गराउनेछिन् ।
यसको लागि उनले राम्रै पारिश्रमिक लिने सहमति भएको निर्माता अधिकारीले बताए । ‘पहिला पनि आशा भोसलेले गाउनुभएको थियो । त्यो फिल कायम रहोस् भनेर संजीवनीकै स्वरमा रेकर्ड गर्ने पक्का भएको हो’ अधिकारीले भने, ‘किनभने संजीवनीले पहिला पनि धेरै नेपाली गीतमा आवाज दिनुभएको छ ।’
गीतले नयाँ जीवन पाउने उनले बताए । ‘पुरानै बाजा प्रयोग गरेर नयाँ स्वर र आवाज हालेर गीतलाई उठाउँछौ । पुरानो गीत बसेको रहेछ, उठाउन खोजिएको छ’ उनले भने ।यस गीतका लागि यसैसाता ‘माइतीघर’को मौलिक गीतका एकमात्र जीवित सर्जक तथा गीतकार किरण खरेलबाट प्रतिलिपि अधिकार सुनिश्चित गरिएको निर्माताले जनाए । ‘खरेलसँग प्रतिलिपि अधिकारबारे कागजी सम्झौता भैसकेको छ’ उनले भने ।
संजीवनीले पानी मीठो मेरो हजुर, पुरानो हुँदैन माया, डाँडा पाखा छहराले, तिम्रो सम्झनाले मलाई, आँखामा आउने तस्वीर, गैरीखेतको शीरै हान्योजस्ता हिट नेपाली गीतमा स्वर दिएकी छन् । ‘माइतीघर’ फिल्मको कुरा गर्दा, मिलन तामाङले निर्देशन गर्ने यो फिल्मको छायांकन चैतदेखि गर्ने तयारी छ ।
यसमा केदार घिमिरे, प्रकाश सपुत, बुद्धि तामाङ, दिकिला शेर्पा, उपासनासिंह ठकुरीले अभिनय गर्ने पक्का भएको छ । फिल्मको प्रचारप्रसार तीव्र तुल्याइने जानकारी निर्माता अधिकारीले दिए ।