२०८१ पौष ८, सोमवार , १२:२०:५९ बजे

Sajhamanch
'

हल्दिबारीमा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सुरु

सोमवार, पौष ८, २०८१

हल्दिबारी । हल्दिबारी गाउँपालिकामा सामुदायिक कुकुरहरूको बन्ध्याकरण शिविर सोमबारदेखि सुरू भएको छ। शिविर आज र भोली दुई दिन सम्म सञ्चालन हुने जनाइएको छ ।

गाउँपालिकाको ४ लाख बजेटमा सञ्चालित शिविरमा १४४ कुकुरहरूको बन्ध्याकरण गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिए।

शिविरमा पाँचै वडाबाट कुकुर सङ्कलन गरिँदैछ। गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार नै सामुदायिक कुकुरको बन्ध्याकरण शिविरको आयोजना गरिएको उनले बताए ।

कुकुरको आक्रमणबाट जनधनको हुनसक्ने मानवीय क्षतिबाट बच्नको लागि पनि सामुदायिक कुकुर बन्ध्याकरण शिविर आवश्यकता रहेको उनको भनाइ छ ।

सामुदायिक कुकुरका कारण सडक दुर्घटनासमेत बढेको गएकाले शिविरले यसको सङ्ख्या नियन्त्रणसँगै जोखिम पनि कम हुने गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेनले बताएका छन्। यस्तै योजना अधिकृत राजन न्यौपानेले सामुदायिक कुकुरको सङ्ख्या घटाउनको लागि बन्ध्याकरण शिविर प्रभावकारी हुने बताए।

शिविरमा हाम्रो भेटेरिनरी सेवा सहकारी संस्था ली को प्राविधिक सहयोग रहेको छ। शिविरमा संस्थाका अध्यक्ष डा. दिलीप सापकोटा र डा. सिजन सैजुको टिमले सामुदायिक कुकुरहरूको बन्ध्याकरणमा सहजीकरण गरिरहेका छन् ।

सामुदायिक कुकुरहरूले बालबालिका झम्टिने, रातिको समयमा यात्रा गर्न पनि असहज पारिदिने, साना पशु चौपायालाई आक्रमण गर्ने र दुर्घटनासमेत निम्त्याउने गरेका छन् । कुकुरहरूमा बन्ध्याकरण गर्दा रेबिजविरुद्धको खोप पनि लगाइएको पशुपन्छी तथा मत्स्य विकाश शाखाकी प्रमुख सानुमाया श्रेष्ठले बताइन।

सम्बन्धित खबर