फुङ्लिङ । ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।यो वर्ष १५ हजार ८३२ मेट्रिक टन उत्पादन भएको केन्द्रका प्रमुख सन्तोष थापा मगरले बताए। केन्द्रका अनुसार यो अघिल्लो वर्षको तुलनामा छ मेट्रिक टनले बढी हो। मौसम अनुकूलतासँगै बालीलाई पानी चाहिने समयमा वर्षा भएकाले उत्पादनमा सुधार आएको हो। यो वर्ष ५५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो।
यो वर्षको उत्पादनबाट ताप्लेजुङका किसान उत्साहित भएका जनाउँदै उनले स्थानीयस्तरमा खाद्य सुरक्षा सुनिश्चित गर्न मद्दत मिलेको बताए। अझ अधिक उत्पादनका निम्ति किसानलाई उन्नत बीउ, मलखाद र यन्त्रको उपयोगमा जोड दिन सुझाउने उनको भनाइ छ।