
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा कार्यरत महिला कर्मचारीहरु बीचको फुटसल प्रतियोगिता शनिबार धुलाबारीमा सम्पन्न गरिएको छ ।
संस्था अन्तरगतको खेलकुद उपसमितिको आयोजनामा सम्पन्न गरिएको प्रतियोगितामा ८ वटा टोलीको सहभागिता थियो । प्रतियोगिताको फाइनल खेल भद्रपुर–केचना क्षेत्र र मोरङ क्षेत्र बीच भएको थियो ।
सो फाइनल खेलमा मोरङ क्षेत्रले बाजी मारेको छ । प्रतियोगितामा विजयी भएसँगै मोरङ क्षेत्रले नगद १२ हजार रुपैयाँ पुरस्कार, शिल्ड तथा खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरियो ।
यस्तै उपविजेतामा सिमित भएको भद्रपुर–केचना क्षेत्रको टिमलाई नगद ८ हजार रुपैयाँ पुरस्कार, शिल्ड र खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक उपसमितिका सदस्य सचिव अरुणकुमार प्रधानले जानकारी दिए ।
प्रतियोगितामा प्लेयर अफ दि टुर्नामेण्ट भद्रपुर–केचना क्षेत्रका खेलाडी रिता गिरी घोषित भई पुरस्कार र प्रमाणपत्र प्राप्त गरिन् ।
संस्थाका सम्पूर्ण व्यवसायबाट खेलाडीको सहभागिता रहेको उक्त प्रतियोगितामा विजयी, उपविजयी एवम् उत्कृष्ट खेलाडीलाई संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी र पूर्व अध्यक्ष रामचन्द्र उप्रेतीलगायतले पुरस्कार र शिल्ड प्रदान गरेका थिए ।
खेलकुद उपसमितिका संयोजक नवीन भण्डारीको अध्यक्षतामा आयोजित फुटसल प्रतियोगितामा सहभागी खेलाडी, अफिसियल्स तथा संस्थाका पदाधिकारीहरुलाई उपसमितिका सदस्य दिलेन्द्रकुमार कार्कीले शाब्दिक स्वागतसहित प्रतियोगिताको औचित्य माथि प्रकाश पारेका थिए ।
सो क्रममा उनले भने, संस्थामा महिला शेयर सदस्यको प्रतिनिधित्व ५४ प्रतिशतभन्दा माथि रहेको अवस्थामा यहाँ कार्यरत महिला कर्मचारीहरुको हौसला बढाउन खेल क्षेत्रमा पनि सहभागिता रहोस् भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको हो ।
कर्पोरेट सामुदायिक विभागका प्रमुख अरुणकुमार प्रधानले सञ्चालन गरेको प्रतियोगिता उद्घाटन तथा पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष सिवाकोटी, संस्थापक अध्यक्ष उप्रेती, सञ्चालक समितिका सदस्य पवित्रा न्यौपाने, संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीलगायतको उपस्थिति थियो ।