भद्रपुर । भद्रपुर नगरपालिकाले चौथो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । नगरपालिकाले दिवसको अवसरमा आज स्थानीय सार्वजनिक बिदा दिएका छन् ।
नगरपालिकाले भद्रपुर-८ स्थित श्रीकृष्ण द्वैपायन गुरुकुल वेदविद्याश्रममा बिहान ११ बजेदेखि दिवस मनाउने लागेको नगरपालिका सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले जानकारी दिइन् ।
त्यस्तै बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवसको अवसरमा नगरका विद्यालयहरूले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।
नगरपालिकाको सातौँ नगर सभाबाट प्रत्येक वर्ष पुस ७ गतेका दिन बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवस मनाउन स्थानीय बिदा दिने निर्णय गरेको र सोही निर्णय अनुसार बिदा दिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए ।
आज अत्यावश्यक सेवा वारुणयन्त्र र सरसफाइ बाहेक नगर कार्यपालिकाको कार्यालय, वडा समितिको कार्यालयहरू तथा यस नगरपालिका अन्तर्गतका निकायहरू बन्द रहने छन् ।