२०८१ पौष ५, शुक्रवार , ०८:१०:०९ बजे

Sajhamanch
'

बिर्तामोडमा अपाङ्गता भएकाहरुलाई परिचय पत्र वितरण सुरु

शुक्रवार, पौष ५, २०८१

बिर्तामोड । अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर बिर्तामोडमा पनि सुरु भएको छ ।

वडा नम्बर ६ को कार्यालयमा आज स्थानीय अपाङ्ग‌ता समन्वय समितिका संयोजकसमेत रहेका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले शिविर उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख संग्रौलाले प्रदेश सरकार र करुणा फाउण्डेसनको सहयोगमा नगरपालिकाले आयोजना गरेको यस शिविरबाट भरपुर लाभ लिन सबैलाई आग्रह गरे ।

कम्तिमा ६ देखि ९ महिनासम्ममा अनिवार्य स्वास्थ्य जाँच गर्नु पर्नेमा जोड दिँदै उपप्रमुख संग्रौलाले ललितपुर रोटरी क्लबको सहयोगमा बिर्तामोडमा ७६ वटा व्हिलचियर वितरण गर्ने जानकारीसमेत दिए ।

उपप्रमुख संग्रौलाले शिविरमा आउन नसक्नेहरुको लागि घरैमा पुगेर सेवा दिने पनि बताए ।

यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले यस अघिको समयमा अपाङ्गता परिचय पत्र मात्रै वितरण गरेको भएपनि यो शिविर प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे । आजदेखि सुरु भएको शिविर पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।

तालिका अनुसार भोलि पुस ६ गते १ नम्बर वडा कार्यालय, ७ गते वडा नम्बर २ को वीर अमरसिंह माध्यमिक विद्यालय, ८ गते ८ नम्बर वडा कार्यालय, ९ गते वडा नम्बर ९ को शहीद लक्ष्मी प्रावि, १० गते वडा नम्बर १०को वडा कार्यालय, ११ गते वडा नम्बर ४ को पशुपंछी तथा मत्स्य विकास शाखाको कार्यालय, १२ गते वडा नम्बर ५ को देवी माध्यमिक विद्यालय, १३ गते वडा नम्बर ७ को जनता प्रावि र १४ गते वडा नम्बर ३ को महेन्द्र रत्न माध्यमिक विद्यालयमा शिविर सञ्चालन हुने कार्यतालिका बनाइएको छ ।

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, बिर्तामोड नगरपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक साझेदारीमा सञ्चालित अपाङ्ग रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गतको सञ्चालित शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षणसंगै आवश्यकता पहिचान र परिचय पत्र वितरण गरीनेछ ।

आज ६३ जनाले सेवा लिएका छन् । जसमध्ये १३ जनाले नयाँ अपाङ्गताको परिचय पत्र प्राप्त गरेको जनाइएको छ ।

सम्बन्धित खबर